काठमाडौं- लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा तय भएको छ।
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसाविरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्षको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको नारा तय गरेको हो। मन्त्रालयका अनुसार ‘समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ नारा तय भएको छ।
राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको योजना छ।
देशभर बलात्कारका घटनामा वृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए।
यस्तै विश्वभर भने ‘अरेन्ज द वर्ल्ड : जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स रेप’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाईंदै छ।