सिन्धुली- मारुती सिमेन्ट कारखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विस्फोट गरेको छ।
गए राति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार सिमेन्ट कारखानाको एक स्काभेक्टर बमबाट पूर्णरूपमा क्षति भएको छ। एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ।
मारुती सिमन्टले दुधौली नगरपालिका-१४, ककुर ठाकुरबाट कच्चा पदार्थ लैजान सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन।
यसैबीच, हिजो दुधौली नगरपालिका-१३, अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो। निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै एक करोड ५० लाख रूपैयाँ चन्दा मागेको जानकारी दिए। उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ।
रासस