काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत होम खेलमा नेपाल फेरि पनि कुवेतसँग पराजित भएको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो। कुवेतका लागि एकमात्र विजयी गोल खेलको २८ औं मिनेटमा कप्तान बदर अल मतवाले गरे। उनले डिबक्स वाहिरबाट गरेको प्रहार गोलमा परिणत हुँदा नेपाल पराजित हुन पुग्यो।
कुवेतसँगको पहिलो खेलभन्दा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पनि गोलका लागि थुप्रै अवसर सिर्जना गरेपनि बराबरी गोल भने फर्काउन सकेन।
नेपाल यसअघि कुवेतसँग भएको अवे खेलमा ७–० ले पराजित भएको थियो।
नेपालको दशरथ रंगशाला खेलका लागि तयार भैनसक्दा नेपालले घरेलु खेल न्यूट्रल भेन्यूका रुपमा भुटानमा खेलेको हो।