काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
नेपालका लागि करन केसीले दुई विकेट लिएका छन्। उनले तेस्रो ओभरको अन्तिम बलमा हङकङका क्यामरुन ल्याचल्यान मकाउस्ल्यानलाई ४ रनमा विनोद भण्डारीद्वारा क्याच आउट गराए। यस्तै, पाँचौं ओभरको पाँचौं बलमा असन अलीलाई १० रनमा विनोदद्वारा क्याच आउट गराए।
२१८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको हङकङ ६.५ ओभर सकिँदा दुई विकेट गुमाएर ३२ रनमा खेलिरहेको छ। निजाकोट खान मोहम्मद र शाहिद वसिफ समान ९ रनमा खेलिरहेका छन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन जोडेको थियो। शरद भेषवाकरले सर्वाधिक ८९ रन जोडेपछि नेपालले २०० को आँकडा पार गरेको थियो।
नेपालका लागि आरिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडे।
प्रतियोगिताअन्तर्गत यो नेपालको दोस्रो खेल हो। यसअघि भारतसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेल आगामी सोमबार बंगलादेशसँग खेल्दैछ।