काठमाडौं- ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको पक्राउविरुद्ध व्यवसायीहरु आन्दोलित भएका छन्। नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
बुधबारको बैठकबाट संघले आन्दोलनमा जाने निर्णय गरेको हो। जसअनुसार बिहीबार न्यूरोड जुद्ध शालिक अगाडि प्रदर्शन गर्ने र क्रमश सशक्त आन्दोलनका कार्यक्रमहरु गर्ने संघले जनाएको छ।
विदेश भ्रमणमा गएको व्यक्तिलाई स्वदेश फर्कदा सिधै एरपोर्टबाट पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको सघले उल्लेख गरेको छ।
विरोधका कार्यक्रम सार्वजनिक गरेपछि निजीक्षेत्र अब खुलेरै मैदान आएको हो। यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा एशोसिएशन नेपाल, नेपाल चीन चेम्बर आदिले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
ल्याण्डमार्ग हाउजिङमा भएको ठगीको आरोपमा बिजेन्द्र मल्लले दिएको उजुरीको आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। देवयानी मुद्दाको विषयलाई फौजदारी मुद्दामा जोडेर पुरै परिवारविरुद्ध पक्राउ पुर्जी काट्नु एकदमै गलत रहेको व्यवसायीको ठहर छ।
ज्योति परिवारले बिजेन्द्र मल्लको माग दाबी अनुरुपको रकम अदालतमा पहिले नै जम्मा गरिसकेको अवस्थामा पनि एउटा अपराधी जसरी पक्राउ गर्दा त्यसले समग्र निजी क्षेत्रलाई निरुत्साहित बनाएको भन्दै उद्योगी व्यवसायीको आत्मबल बढाउनुपर्ने अवस्थमा हजारौ रोजगारी सिर्जना गर्ने तथा राज्यलाई करोडौ कर तिर्ने उद्योग प्रतिष्ठानको संचालक समेत सुरक्षित नभएकोमा तिब्र रोष प्रकट गरिएको छ।