आइतबार, साउन ३१, २०८३

करको दर बढ्दा महँगीको मारमा उपभोक्ता

 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं - सरकारले चालु आवको चार महिना नबिल्दै आर्थिक ऐन संशोधन गरेर करको दर परिमार्जन गरेको छ। संशोधनमा विलासिताका वस्तुको भन्सार दर बढाइएको छ भने उद्यम–व्यवसायमा करको दर घटाइएको छ।

गत कात्तिक २५ गते राजपत्रमा प्रकाशित संशाेधित आर्थिक ऐनअनुसार कुखुरापालन व्यवसायका लागि आयात हुने फूलको भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ। यसैगरी एक्रेलिक इमल्सन ( तयारी रङ उत्पादनका लागि चाहिने कच्चा पदार्थ) मा १० प्रतिशत भन्सार छुट दिइएको छ।

यसअघि त्यस्तो कच्चा पदार्थ आयात गर्दा ३० प्रतिशत भन्सार लाग्थ्यो। उद्योगकै नाममा ल्याएको पाइएमा २० प्रतिशत मात्र भन्सार महसुल तिर्नुपर्नेछ।

सरकारले केही वाइनमा पनि अन्तःशुल्क छुट दिएको छ। स्वदेशी फलफूलबाट बनेको वाइनमा बाहेक अन्य वाइनमा ३० प्रतिशत छुट दिने व्यवस्था छ। वाइन कारोबारमा आएको गिरावटका कारण अन्तःशुल्कमा ३० प्रतिशत छुट दिइएको हो। यस्तो छुट १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएका वाइनका लागि मात्र हो।

यसअघि त्यस्ता वाइनको प्रतिलिटर ३२५ रुपैयाँ अन्तःशुल्क लाग्ने व्यवस्था थियो। तर अब भने सो रकमको ३० प्रतिशत अर्थात् ९७ रुपैयाँ प्रतिलिटर छुट पाइनेछ।

संशोधित आर्थिक ऐनमा कस्मेटिकजन्य मालवस्तुमा भने दोब्बरले अन्तःशुल्क लगाइएको छ। ती वस्तुमा यसअघि ५ प्रतिशत मात्र अन्तःशुल्क लाग्थ्यो अब भने १० प्रतिशतका दरले अन्तःशुल्क लाग्नेछ।

यसैगरी फलाम वा इस्पातको सरसफाइसम्बन्धी सामान र पाटपुर्जामा पनि ५ प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ। कफीजन्य मालवस्तुमा १० प्रतिशत अन्तःशुल्क लगाउने निर्णय भएको छ। अब कफीजन्य, कस्मेटिक सामग्रीको मूल्यवृद्धि हुनेछ। अर्थ मन्त्रालयका अनुसार चालू आवको तीन महिनामा अन्तःशुल्क लक्ष्यभन्दा कम उठेपछि विभिन्न वस्तुहरुको अन्तःशुल्क बढाइएको हो।

चालु आवको तीन महिनामा ३२ अर्ब ९० करोड मात्र अन्तःशुल्क उठेको छ। तर सरकारले तीन महिनामा अन्तःशुल्क ४२ अर्ब ९० करोड उठाउने लक्ष्य राखेको थियो।

व्यापारिक प्रयोजनका लागि ल्याउने सुनको प्रति १० ग्राम १५ सय रुपैयाँ भन्सार बढाएर ६५ सय पुर्याइएको छ भने चाँदीमा पनि प्रति १० ग्राममा १९ रुपैयाँ बढाएर ७५ रुपैयाँ पुर्याएको छ।

यसैगरी ५० ग्राम काँचो सुन ल्याउँदा लाग्ने भन्सार पनि एक हजारले बढाएर ७२ सय पुर्याएको छ भने ५० ग्रामभन्दा बढी थप ५० ग्राम सुन ल्याउँदा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने व्यवस्था पनि संशोधनमार्फत गरिएको छ।

यसैगरी ५० ग्राम सुनका गहना ल्याउँदा भन्सार नलाग्ने व्यवस्था यथावत् छ।

चार महिना पनि नपुग्दै आर्थिक ऐन संशोधन गरिएको प्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कपालमा प्रयोग हुने कस्मेटिक्स, फलाम वा इस्पातको सरसफाइसम्बन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले एकातर्फ अनाधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रबल रहने छ। त्यस्तै अन्तःशुल्क र भन्सार महसुल बढ्दा मूल्य वृद्धि भई उपभोक्ता महँगीको मारमा पर्नेछन्।’

 

प्रकाशित: Nov 13, 2019| 07:05 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्