काठमाडौं - संसद्को सार्वजनिक लेखा समितिले नेपाली सिमेन्टको गुणस्तर घट्ने गरी नयाँ मापदण्ड ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ।
विभिन्न निकायले नेपाल गुणस्तर तथा नापतौल विभागले ल्याउन लागेको मापदण्डले नेपालमा उत्पादित सिमेन्टको गुणस्तर घट्ने भन्दै समितिमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा समितिले शुक्रबार बैठक डाकी पहिलो चरणको छलफल गरिसकेको छ । आगामी बैठकमा पनि यसबारे छलफल हुने समितिका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
विभाग सोमबार नेपाली सिमेन्टको मापदण्डबारे पत्रकार सम्मेलन गर्ने तयारीमा थियो। तर लेखा समितिले यसै विषयमा छलफल गर्ने भएपछि पत्रकार सम्मेलन स्थगित गरिएको छ।
लेखा समितिका सदस्यहरुले सिमेन्टमा नयाँ मापदण्ड लागू भएमा नेपाली सिमेन्टको गुणस्तर खस्किने र आयातमा निर्भर हुनुपर्ने अवस्था आउने भन्दै नयाँ मापदण्डको विरोध गरेका थिए।
समिति प्रवक्ता पाण्डेका अनुसार २०५५ सालमा बनेको नेपाल गुणस्तर चिह्नको मापदण्ड गत असार १८ गते आपूर्तिमन्त्री मात्रिका यादवले गुणस्तर निर्धारण परिषद् मार्फत परिवर्तन गर्न खोजेका थिए। त्यसपछि लेखा समितिमा उजुरी परेको हो।
‘नयाँ मापदण्ड नेपाली जनताको लागि हानिकारक हुन सक्ने भन्दै समितिले यसमा चासो दिएको हो’, प्रवक्ता पाण्डेले भने, ‘त्यसैले सार्वजनिक लेखा समितिले यस विषयमा गम्भीर अध्ययन, छानबिन र बहस गर्नुपरेको हो।’
नयाँ मापदण्डमा ३३, ४३ र ५३ ग्रेडका ओपिसी सिमेन्टमा ६ प्रतिशतसम्म म्याग्नेसाइड मिलाउन पाउने प्रावधान छ। म्याग्नेसाइडको मात्रा पाँच प्रतिशतभन्दा बढी भएमा पाँच वर्षपछि सो सिमेन्ट फुट्न थाल्छ। नेपाली सिमेन्टमा बढीमा ५ प्रतिशतसम्म म्याग्नेसाइड प्रयोग गर्न पाइने व्यवस्था छ।
विभागका महाप्रबन्धक विश्वबाबु पुडासैनीका अनुसार नयाँ मापदण्डमा ३३ ग्रेड बाहेक अन्यमा ५ प्रतिशत म्याग्नेसाइडको प्रयोग गर्नुपर्नेछ। उनले भारत र चिनमा पनि सिमेन्टमा ६ प्रतिशतसम्म म्याग्नेसाइडको प्रयोग हुने बताए।
पाण्डेले भने, ‘अहिलेसम्म नेपालको सिमेन्ट गुणस्तरीय भएकाले बिक्री भइरहेको हो। यसले निर्यात पनि गर्न थालेको छ। गुणस्तरमा सम्झौता गरियो भने सिमेन्ट निर्यात हुन सक्दैन र फेरि भारतीय सिमेन्ट उद्योगीले नेपालमा स्थान पाउनेछन्।’
महाप्रबन्धक पुडासैनीले करिब चार वर्ष लगाएर तयार पारेको नेपाल गुणस्तर चिह्न स्ट्यान्डर्ड निर्धारणसम्बन्धी नयाँ मापदण्डका लागि परिषद्मा कुनै सुझाव नआएपछि स्वीकृत गरिएको बताए।
सिमेन्ट उत्पादक संघले भने नयाँ मापदण्डमा म्याग्नेसाइडको मात्रा ६ प्रतशत हुनुपर्ने माग गरेको थियो।
पुडासैनीले भने, ‘सिमेन्ट उत्पादनमा क्लिङ्कर र जिप्सनबाहेक केही मिसाउन पाइँदैन। त्यसैले के मिसावट भन्न खोजेको हो मैले बुझ्न सकिनँ।’ तीन वर्षयता नेपालमा सिमेन्ट आयात भएको छैन।