आइतबार, साउन ३१, २०८३

महंगिँदै सुन, प्रति १० ग्राम १५ सयले बढ्यो भन्सार दर

सुनको भन्सारदर प्रति दशग्राम ६५ सय रुपैयाँ पुगेको छ। यसअघि प्रति दश ग्राम पाँच हजार रुपैयाँ मात्र तिरे पुग्ने थियो।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- सुनको भन्सारदर प्रति दशग्राम ६५ सय रुपैयाँ पुगेको छ। यसअघि प्रति दश ग्राम पाँच हजार रुपैयाँ मात्र तिरे पुग्ने थियो।

पछिल्लो समयमा सुन आयातमा तस्करी बढ्यो भन्दै सरकारले सुनको भन्सारदर एक्कासी प्रति दश ग्राम १५ सय रुपैयाँ भन्सार बढाएको हो।

विदेशबाट फर्केकाहरुले ल्याउने सुनका गहनामा भने भन्सार महसुल नबढाइएको भन्सार विभागले जनाएको छ।

गत कात्तिक १८ गते बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रालयले प्रस्तुत गरेको भन्सार महसुल बढाउने प्रस्तावलाई सदर गरी निर्णय गरेको हो।

नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ६ हजार पाँच सय रुपैयाँ भन्सार तिर्नुपर्छ। यसअघि सोही मात्राको सुन ल्याउने प्रति १० ग्राम पाँच हजार रुपैयाँ भन्सार तिर्नुपर्दथ्यो।

त्यस्तै थप ५० ग्राम ल्याउन चाहनेको लागि थप एक हजार बढ्ने गरी भन्सार महसुल लाग्ने भन्सार विभागले जनाएको छ।

भन्सार विभागका महसुल शाखाका प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार चाँदीमा पनि प्रति दश ग्राम १९ रुपैयाँले भन्सार महसुल बढेको छ। यसअघि चाँदी ल्याउँदा प्रति दशग्राम ५६ रुपैँया मात्र तिरे पुग्दथ्यो।

बैंकहरुले ल्याएको करिव ३०० किलो सुन बिक्रि नभए पनि बजारमा माग धानिरहेको भन्दै यसमा सुन चोरी पैठारी भएको निष्कर्ष अर्थमन्त्रालयले निकालेको थियो। मन्सार महसुल बढेसँगै सुन र चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

महसुल बढेसँगै सुनको मुल्य प्रतितोला ११ सयले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा विस्तारै सुनको भाउमा गिरावट आए पनि नेपालमा भन्सार महसुलमा भएको वृद्धिका कारण सुनको भाउ फेरि बढेको हो।

आइतबार सुन प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। यसअघि सुन प्रतितोला ६९ हजार ९०० रुपैयाँ थियो।

प्रकाशित: Nov 10, 2019| 10:53 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्