१. पश्चिमी सिरियाको इदलिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारीअनुसार जिहादीको बलियो प्रभाव रहेको क्षेत्रमा मस्कोले युद्धविराम घोषणा गरेको दुई हप्तापछि पुनः यो आक्रमण भएको हो।
गत शुक्रवार दक्षिणी इदलिब प्रान्तको मआरेट अल नुम्यान र काफ्रानबेल शहरमा शुक्रवार भएको रकेट प्रहार र गोलाबारीले एक बालकसहित पाँच सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ।
सन् २०११ को मार्चदेखि सिरियामा जनआन्दोलन सुरु भएको थियो। त्यसयता चलेको गृहयुद्धका कारण सिरियामा अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मारिएको तथ्यांक छ।
गृहयुद्धमा अहिले आतंकवादी समूह मानिने अलकायदा र इस्लामिक स्टेट (आइएस)का लडाकू हाबी भएको बताइएको छ।
२. अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिवान लडाकुले आत्मसमर्पण गरेका छन्। देशको उत्तरी प्रान्त तखारमा लडाकुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन्।
“स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
आफूहरुसँग भएको हातहतियार पनि उनीहरूले सुरक्षा अधिकारी बुझाएका जारी वक्तव्यमा जनाइएको छ। ती तालिवान लडाकुहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ।
३. बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार ब्रसेल्समा बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा एक महत्वपूर्ण भेटवार्ता गर्ने बताएका छन्।
ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको प्रयासको यो पछिल्लो प्रयासस्वरूप उनले यस महत्वपूर्ण भेटवार्ता गर्न लागेका हुन्।
युरोपियन युनियनका अध्यक्ष माइकल बार्नियरसँग सोमबार भेटवार्ता गर्ने बारेमा प्रधानमन्त्री जोनसनले एक कार्यक्रममा जानकारी दिएका हुन्।
उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग पनि भेट तथा ब्रेक्जिटका विषयमा आवश्यक परामर्श गर्ने सो सम्बोधनका क्रममा बताएका छन्।
उनले भनेका छन्, “म यस काममा आशावादी छु, मलाई लाग्छ– बेलायत युरोपियन युनियनबाट बाहिरिने छ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ।”
४. फिलिपिन्सको एउटा गाउँमा केही सामाजिक कार्यकर्ताले प्लास्टिक प्रयोग नियन्त्रण गर्न अभियान शुरु गरेका छन्। उनीहरूले फोहोरमा फालिएका प्लाष्टिकका थैलासँग चामल साटिदिने अभियान थालेका हुन्।
५. दक्षिण चीन सागरमा रहेको प्यारासेल टापु नजिकै भएर अमेरिकी नौसैनिक युद्दपोत गुज्रिएपछि त्यहाँ तनावको स्थिति बनेको छ। अन्तर्राष्ट्रिय जलमार्गलाई चिनियाँ सार्वभौम क्षेत्र भन्दै चीनले उक्त जलक्षेत्रमाथि दाबी गरिरहेको छ।
६. इरानी सुरक्षा फौजका एक उच्च अधिकारी मेजर जर्नेल मोहम्मद हुसैन बकेरीले इरान र चीनबीच भएका सबै क्षेत्रका द्विपक्षिय सम्झौता रणनीतिक महत्वका रहेको बताएका छन्। उनले चिनियाँ उच्च सैन्य अधिकारी जर्नेल लि जुओछङ्गसँग चीनको राजधानी बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो बताएका हुन्।
७. साउदी अरेबियाको राष्ट्रिय कम्पनी साउदी अराम्कोको दुई ठूला प्रशोधन स्थलमा ड्रोन हमला भएको छ। हमलाका कारण त्यस क्षेत्रमा आगलागी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।
यमनको हुती विद्रोहीले यस हमलाको जिम्मेवारी लिएको छ। उसले यस हमलामा १० ड्रोन पठाएको जनाएको छ।
८. मोरोक्को र इन्डोनेसियाले कानुनी क्षेत्रका साझा समस्या हल गर्न साझेदारी गर्ने द्विपक्षीय सम्झौता गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४