बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन प्यान अनिवार्य : अर्थमन्त्री

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन प्यान अनिवार्य : अर्थमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अर्थमन्त्री डा.युवराज खतिवडाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा लैजान प्यान अनिवार्य भएकोले प्यान कार्डको व्यवस्था पूर्ण रुपमा लागु भएरै छाड्ने बताएका छन्। उनले नागरिकताजस्तै प्यान पनि अनिवार्य भएको भन्दै प्यानकार्डबाट नभाग्न र नडराउनको लागि आग्रह समेत गरे ।
 
नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजना गरिएको नेपालको अर्थतन्त्रका विद्यमान अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले राष्ट्रिय परिचयपत्र बनेपछि प्यान अनिवार्य हुने र यसले नेपालको अर्थतन्त्र ट्रान्सप्यारेन्ट र औपचारिक हुने दाबी गरे ।

उनले प्यान लागु भएपछि यसको दायरामा आउनेको संख्यामा पनि उल्लेख्य बृद्धि हुदै गएको भन्दै नागरिकता नभएको वा अल्पकालीन काम गर्नेको समस्या सहजीकरण गर्न सरकार तयार रहेको सपष्ट पारे। 

त्यस्तै उनले व्यवसायीहरुले कारोबार मुल्यमा नै भन्सार लगाउन गरिएको मागमा अर्थमन्त्रालयले ध्यान दिएको भएपनि चीनतर्फको व्यापारमा चाहेर पनि कारोबार मूल्य स्थापित गर्न नसकिएको र भारततर्फको व्यापार अनौपचारिक रूपमा पनि हुने गरेकाले समस्या रहेको बताए। यदी कारोबार मूल्यमा भन्सार लगाउने हो भने सम्पूर्ण कारोबार बैंकिङ प्रणाली र एलसी अनिवार्य हुनुपर्ने मन्त्रीले बताए।
 
त्यस्तै उनले व्यवसायीहरुलाई नै काला बजारी ऐनको विषयमा जानकारी नभएको भन्दै, ‘अहिलेसम्म कसरी उद्योग चलाइरहनु भएको छ ?’ भनेर प्रश्न गरे। उनले भने, ‘हामीहरुले अहिलेसम्म व्यवसायीलाई नै जानकारी दिन सकेका रहेनछौं, पहिला व्यवसायीहरु नै यो विषयमा जानकार हुन आवश्यक छ।’ उनले कर छली गर्ने कसैलाई नछाडिने बताए।

पछिल्लो समय चर्चामा रहेको सम्पत्ति हस्तान्तरणमा लाग्ने करको बारेमा अर्थमन्त्रालयले छलफल गरिरहेको भन्दै यो विश्वभर भएको अभ्यास भएकोले यसबाट नडराउनको लागि व्यवसायीहरुलाई आग्रह गरे ।
 
सो कार्यक्रममा व्यवसायीहरुले सम्पत्ति हस्तान्तरण गर्दा कर लाग्ने भएपछि क्यापिटल फ्लाइट (पुँजी पलायन) हुने तर्क पेश गरेका थिए। उनीहरुले यदी ‘यो कर कार्यान्वयनमा आए उद्योगी र व्यवसायीले मुनाफाका लागि किन दगुर्ने?’ भन्दै प्रश्न गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्