काठमाडौं- वाणिज्य बैंकले गत वर्ष २४.१६ प्रतिशत नाफा कमाएका छन्। तीन सरकारीसहित २८ वाणिज्य बैंकले गत वर्ष ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन्। आव ०७४/७५ मा बैंकहरूले ५२ अर्ब ३४ करोड २५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका थिए।
अघिल्लो आवमा १२ महिना नै बैंक तथा वित्तीय संस्थाले क्रेडिट क्रन्चको समस्या भोगेका थिए तर नाफा बढाएका छन्। बैंकले पुराना लगानीमा सक्दो धेरै ब्याज बढाए भने नयाँ लगानीमा १७ प्रतिशतसम्म ब्याज लिए। जसले गर्दा उनीहरुको नाफा बढेको छ।
त्यस्तै बैंकहरुले लगानीको दायरा फराकिलो पारेका छन्। कतिपय वाणिज्य बैंकले सहायक कम्पनी खोलेर जनतालाई सेयर लगानीमा प्रोत्साहित गरिरहेका छन्। केहीले लघुवित्त र मार्जिन लेन्डिङ गरेर पनि नाफा कमाइरहेका छन्। वैदेशिक मुद्रा र एलसी कारोबारबाट पनि वाणिज्य बैंकले आम्दानी गरिरहेका छन्।
सरकारी स्वामित्वको तीन वटा वाणिज्य बैंकहरु (कृषि विकास बैंक, नेपाल बैंक र वाणिज्य बैंक) क्रमशः चार अर्ब ३५ करोड, २ अर्ब ६१ करोड र पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
तीमध्ये कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैकले क्रमशः १९.१५ र ४५.६१ नाफा कमाएका छन् भने नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७७ प्रतिशत आम्दानी घटाएको छ। अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकले आफ्नो सम्पत्ति बिक्री गरेको थियो जसका कारण उसको नाफा ह्वात्तै बढोत्तरी भएको थियो।
सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्टको नाफा क्रमशः ६.६६ र ५.६४ प्रतिशतले घटेको छ। तीन वटा ठूला कर्जा बिग्रिंदा इन्भेस्टमेन्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँको प्रोभिजनिङ गर्नुपरेको छ। यसले गर्दा निक्षेप तथा ऋण लगानीमा उल्लेख्य सुधार हुँदा पनि नाफामा गिरावट आएको हो।
सबैभन्दा बढी नाफा कमाउनेमा एनआइसी एसिया बैंक छ। एनआइसी एसिया बैंकले गत वर्ष १२९.३२ प्रतिशतले नाफा बढाएको छ। प्रभु बैंकले पनि ११२.०५ प्रतिशतले नाफा बढाएको छ। तर अंकमा भन्ने हो भने सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ।
नबिलले गत वर्ष ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अर्थात् ७.८४ प्रतिशत नाफा बढाएको छ। नबिल बैंकको नेतृत्व अनिलकेशरी शाहले समालेपछि बैंकको नाफामा बढोत्तरी भएको हो।
नाफाभन्दा सेवासुविधालाई प्राथमिकतामा राख्ने नबिलले शाहको नेतृत्वमा भने नाफालाई नै बढी प्राथमिकता दिएको छ। शाहले नेतृत्व सम्हाल्नुअघि नबिलको ब्याज १० देखि १२ प्रतिशतभन्दा माथि थिएन तर शाह आएपछि विभिन्न बहानामा पुराना तथा नयाँ कर्जाको ब्याज ह्वात्तै बढाइदिएका छन्। जसले गर्दा बैंकले राम्रो आम्दानी गरेको हो।
तीन अर्ब रुपैयाँभन्दा धेरै नाफा गर्नेमा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र एनआईसी एसिया बैंक रहेका छन्। दुई अर्बदेखि तीन अर्बको बीचमा नाफा कमाउनेमा ९ वटा बैंक छन्।
प्रभु बैंक अर्बपति क्लबमा उक्लिएको छ। अघिल्लो वर्ष अर्बपति क्लबबाट तल झरेको प्रभु गत वर्षबाट पुनः अर्बपति क्लबमा उक्लिएको हो। सबैभन्दा कम नाफा गर्नेमा सिभिल नै छ। बैंकले सार्वजनिक रुपमा वित्तीय विवरण प्रकाशन गरेको छैन। बैंकले गत वर्ष ८० करोड रुपैयाँ नाफा गरेको छ।
बैंकहरूको चर्को ब्याजदरको विषयलाई लिएर व्यवसायीले आन्दोलन नै गरेका थिए। तैपनि बैंकहरूले राम्रै स्प्रेडमा काम गरेर नाफा बढाएका हुन्। तर यस वर्षदेखि भने बैंकहरुको नाफा घट्ने निश्चित छ।
स्प्रेडदर ४.४ प्रतिशत, यसको गणनाविधि साँघुरो र बफर क्यापिटल पुँजीकोष १३ प्रतिशत पुर्याउनुपर्दा बैंकहरुको नाफा स्वतः घट्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४