काठमाडौं- नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको विभिन्न आर्थिक सूचकले देखाएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक अवस्थाको तथ्यांकले नेपालको आर्थिक स्वास्थ्य कमजोर बन्दै गएको देखाएको हो।
२७.३ प्रतिशत बढ्यो व्यापार घाटा
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ। गत वर्ष मात्र नेपालको व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। निर्यातका तुलनामा आयातमा वृद्धि भएपछि व्यापार घाटा बढेको हो। अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १६.८ प्रतिशत मात्र बढेको थियो।
गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो भने १५.६ प्रतिशतले आयात घटेको थियो।
गत आवमा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ। विदेशबाट आयात गरी नेपालले सोयाबिन तेल निर्यात गर्दै आएको छ।
गत आर्थिक वर्षमा कुल निर्यातको ३८ प्रतिशत अर्थात् ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा कुल आयातको ३.५ प्रतिशत अर्थात् ८० अर्ब ७१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल आयात भएको हो।
सोयाबिन तेल विदेशबाट आयात गरेर नेपालमा खपत भएपछि रहेको बाँकी हिस्सा भारतमा निर्यात गर्ने गरिएको छ। यस्तो प्रकारको निर्यात दिगो होइन। भारतले चाहेको खण्डमा जुनसुकै बेला पनि सोयाबिन तेलको निर्यातमा रोक लगाउन सक्छ। जसले नेपालको निर्यातको ३८ प्रतिशत हिस्सामा ठूलो नकारात्मक असर गर्न सक्छ।
२ खर्ब ८१ अर्बले घट्यो शोधनान्तर, करिब ३ खर्बले घट्यो चालु खाता
व्यापार घाटा बढ्दा नेपालको चालु खाता र शोधनान्तर स्थितिमा पनि चाप परिरहेको छ। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँले शोधनान्तर घटेको छ। गत आर्थिक वर्षमा शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँ मात्रले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो।
शोधनान्तर स्थितिमा कमी आएसँग चालु खाता पनि २ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँले कमी आएको छ। गत आर्थिक वर्षमा नेपालको चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ७६ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो।
त्यस्तै गत आवमा वैदेशिक मुद्राको सञ्चितिमा पनि ०.२ प्रतिशतले कमी आएको छ। व्यापार घाटाका कारण चालु खाता र शोधनान्तर स्थितिमा नकारात्मक दबाब परेसँगै नेपालको वैदैशिक रकमको सञ्चिति पनि खुम्चिएको छ।
नेपालको विदेशी विनिमय सञ्चिति गत आवमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
डेढ खर्ब घट्यो वैदेशिक सम्पत्ति
२०७७ असार मसान्तसम्मा नेपालको खुद वैदेशिक सम्पत्ति २ खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ थियो। तर सो रकम २०७८ असार मसान्तमा आइपुग्दा १ खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँले घटेर ८६ अर्ब ८ करोड रुपैयाँमा आइपुगेको छ।
निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन र ऋण प्रवाह भने बढेको देखिएको छ। निक्षेप परिचालन बढेमा कर्जाको ब्याजदर घट्ने हुन्छ। कम ब्याजदर भएमा कर्जा प्रवाह बढी हुने र त्यसले उत्पादन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले आर्थिक वृद्धिलाई नै टेवा पुग्ने भएकाले निक्षेप संकलन र कर्जा प्रवाहलाई अर्थतन्त्रको सूचकको रूपमा लिने गरिएको छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१.४ प्रतिशतले वृद्धि भएको छ भने २७.३ प्रतिशत निजी क्षेत्रमा कर्जा प्रवाह भइरहेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक विवरण अनुसार नेपालमा भित्रने रेमिट्यान्स भने ९.८ प्रतिशतले वृद्धि भएर ९ खर्ब ६१ ऋर्ब ५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा भने रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो।
विदेशमा काम गर्न जाने कामदारको संख्यामा कमी आएपनि औपचारिक प्रणालीमार्फत रेमिट्यान्स आउन थालेकाले रेमिट्यान्समा वृद्धि भएको देखिएको हो। रेमिट्यान्सका कारण नेपालको अर्थतन्त्र धानिएको र यो दिगो नहुने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। उनले नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स नभएर उत्पादन बनाउनुपर्ने बताए।
व्यापार घाटा बढ्दै जानु, शोधनान्तर र चालुखाता निरन्तर रूपमा घट्दै जानु, विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै जानु, वैदेशिक सम्पत्ति पनि ओरालो लाग्नुले देशको आर्थिक स्वास्थ्य कमजोर बन्दै गएको चित्रण गरेका छन्। यद्यपि, कोभिडको विषम परिस्थितिमा पनि रेमिट्यान्स बढ्नु सकारात्मक छ। तर रेमिट्यान्समा निर्भर अर्थतन्त्र दिगो मान्न भने सकिन्न।