काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिको मिति सारेको छ।
असार २७ गते ल्याउने गरी तयारी थालिए पनि अर्थसचिव डा.राजन खनाल देश बाहिर गएका कारण केही समय ढिला हुने भएको हो। अब साउन पहिलो साता मात्र मौद्रिक नीति सार्वजनिक हुनेछ।
राष्ट्र बैंकले विहीबार मात्र सुझाव संकलनको काम सकेको छ। सुझाबलाई समेटेर मौद्रिक नीति सार्वजनिक गर्न केही समय लाग्नेछ भने राष्ट्र बैंकका सञ्चालक समिति सदस्य समे रहेका अर्थसचिव डा. राजन खनाल विदेशमा छन्।
अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा प्रतिवेदन तयार पार्ने काम पनि सकिएको छैन सो काम पनि हुँदैछ भने आर्थिक वर्षको अन्तमा हुने कामहरु धेरै भएकोले मौद्रिक नीति आउन कम्तिमा पनि १० दिन लाग्ने राष्ट्र बैंकले जनाएको छ।
अर्थसचिव साउन ३ गते स्वदेश फकिएपछि मौद्रिक नीति जारी गरिने छ। राष्ट्र बैंकले देशको ११ महिनाको आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गरेपछि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४