काठमाडौं - अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई अनुमतिविना कामगर्न नदिने बताएका छन्।
उनले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहमा अनुमति वेगर काम गर्न नदिने नीति ल्याएको बताए।
बिहीबारबाट ललितपुरमा सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए।
अर्थमन्त्री डा.खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैरसरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको स्मरण गराए।
अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्यान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने पनि बताए।
दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एसियाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४