काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ का विभिन्न विधामा प्याराग्लाईडिङले वर्चश्व जमाएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (मंगलबार) भएको १६ औं संस्करणको अवार्ड घोषणा कार्यक्रममा प्याराग्लाईडिङले टिम अफ दी ईयर, कोच अफ दी ईयर, प्लेयर अफ दी ईयरमा उपाधी हात पार्यो।
प्याराग्लाईडिङ टिम अफ दी ईयर भएको छ भने यसै खेलका प्रशिक्षक योगेश भट्टराई कोच अफ दी इयर घोषित भए। इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा २० वर्षपछि नेपाललाई रजत पदक दिलाउन सफल भएका युकेश गुरुङ पुरुष वर्ष खेलाडी भए।
वर्ष खेलाडीको महिलातर्फको उपाधि भने सावित्रा भण्डारीले हात पारिन्। सावित्राले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै भारतमा सम्पन्न हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन भूमिका खेलेकी थिइन्। उनी महिला फुटबल लिगको सर्वाधिक गोलकर्ता समेत हुन्। उनले साफ महिला च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ताको उपाधिसमेत हात पारेकी थिइन्।
यस्तै पिपल्स च्वाइस अवार्डको उपाधि भलिवलकी रेश्मा भण्डारीले जितेकी छन्। उनले सहभागीता जनाएका कुल ११ प्रतियोगितामध्ये १० खेलमा आफ्नो टोलीलाई उपाधि दिलाएकी थिइन्।
लाइफ टाइम अचिभमेन्टको अपाधि भने धावक हरिबहादुर रोकाले जितेका छन्। यस्तै पारा एथलेट अफ दी इयरको उपाधि नेत्रहिन क्रिकेट खेलाडी मनकेशरी चौधरीले हात पार्दा स्पेशल अवार्ड भने फुटबलका रोहित चन्दले आफ्नो पक्षमा पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४