काठमाडौं - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पारेका छन्।
मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाड्ने दृढता पनि व्यक्त गरे। संघीय संसद्को विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि उनले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको प्रस्ट पारेका हुन्।
मन्त्री बास्कोटाले आइफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने बताए। उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताए।
बैठकमा समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए। समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बां बजेट दिन लागेको भन्दै आपत्ति जनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४