मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेश : दलीय अडानले बजेटमा छलफलै हुन सकेन

सुदूरपश्चिम प्रदेश : दलीय अडानले बजेटमा छलफलै हुन सकेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बजेट विवादबारे छलफल गर्न सत्ता पक्ष र प्रतिपक्षबीचको बिहान बसेको पाँचौँ  पटकको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहान झन्डै दुई घण्टा बसेको बैठकमा दुवै पक्षबीच सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

सत्ता पक्षले गृहकार्य नै नगरी हल्का ढङ्गले प्रस्तुत भएका कारण सहमति हुन नसकेको उनको भनाइ छ। यथास्थितिमा दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक पनि चल्न नदिने उनको भनाइ छ।

वार्तामा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहरा र नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ सहभागी थिए।

प्रतिपक्षका तर्फबाट डा. रावलसँगै राजपाका सांसद कृष्णबहादुर चौधरी लगायतका ५ जना सांसद सहभागी थिए। वार्तामा सहभागी कांग्रेस सांसद कर्ण मल्लले प्रतिपक्षीले उठाएका मागप्रति सरकार गम्भीर ढङ्गले प्रस्तुत नभएको भन्दै पर्याप्त गृहकार्य र ठोस म्यान्डेट नबनाएसम्म अर्को वार्तामा नबस्ने बताए।

उनले वार्ताबाट समस्या समाधान गर्नुको सट्टा यस्तै दबाब जारी रहे सरकार परिवर्तन हुन सक्ने बताए। सांसद मल्लले भने, ‘सत्तापक्ष र प्रतिपक्षको दबाब र प्रतिदबाबका बीचमा रहने हो भने सरकार परिवर्तन हुन सक्छ।’

प्रतिपक्षी दलहरूको अवरोधका कारण १६ दिन बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। असार १ गते प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले असार ५ गते संसद् अवरोध गर्दै रातो किताब जलाएपछि संसद् निरन्तर अवरुद्ध छ ।

त्यसपछि तीनपटक बैठक आह्वान गरिए पनि प्रतिपक्षीले निरन्तर अवरोध गर्दा कार्यसूचीमै प्रवेश नगरी संसद् अवरुद्ध हुँदै आएको छ। यस अवधिमा सरकार र प्रतिपक्षीबीच पाँचौँपटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले कनिका छरेझैँ छरेर ल्याएको वितरणमुखी बजेट र डल्लो बजेट संशोधन गरी गौरवका आयोजनालाई बजेट छुट्ट्याउनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ३ बजे आह्वान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।