मंगलबार, साउन २६, २०८३

वीरगन्ज नाकाबाट भित्रियो १ खर्ब ५ अर्बको इन्धन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज - व्यापार घाटा कम गर्न वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिइरहेका बेला वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको ११ महिनामा १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ।

भारतबाट विद्युत् आयात गरेर लोडसेडिङ व्यवस्थापन गरिए पनि इन्धन आयातमा गिरावट आउन सकेको छैन। विद्युत् प्राधिकरणले लोडसेडिङमुक्त घोषणा गर्नुअघि सानाठूला उद्योग र व्यावसायिक गृहसमेत लोडसेडिङको समयमा डिजल इन्धनको उच्च प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका थिए।

अहिले लोडसेडिङको अन्त्य गरिएकाले उद्योगले खपत गर्ने डिजलको माग स्थिर रहे पनि अन्य पेट्रोलियम इन्धनको आयात भने निरन्तर बढ्दै गएको छ। पेट्रोल १९ प्रतिशत, खाना पकाउने ग्यास १५ प्रतिशत, डिजल ७ प्रतिशत र हवाई इन्धन आयातमा ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पेट्रोलियम पदार्थमध्ये पेट्रोलको आयात १९.३५ प्रतिशतले बढेको छ। गत आवको जेठ मसान्तसम्ममा २ लाख ४६ हजार ५६ किलोलिटर पेट्रोल आयात भएकोमा चालू आवको जेठसम्ममा २ लाख ९३ हजार ६ सय ७१ किलोलिटर आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। एक किलोलिटरमा १ हजार लिटर इन्धन हुन्छ।

यस आवको ११ महिना अवधिमा पेट्रोल आयातमा मात्र १८ अर्ब ५० करोड ९० लाख रुपैयाँ बिदेसिएको छ। गत आवमा यो नाकाबाट १३ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोल आयात गरिएको थियो।

यसैगरी चालू आवको जेठसम्ममा ७ लाख ८२ हजार ७ सय ५० किलोलिटर डिजेल आयात गरिएको छ। गत आवको पहिलो ११ महिनामा ७ लाख २९ हजार ७ सय २६ किलोलिटर मात्र आयात भएको थियो। डिजलको आयात परिमाण ७.२६ प्रतिशतले मात्र वृद्धि भएको छ।

५४ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबरको डिजल भारतबाट आयात गरिएको थियो। गत आवमा यो आँकडा ४० अर्ब ९२ करोड ८७ लाख रुपैयाँमा सीमित थियो।

खाना पकाउन प्रयोग हुने एलपिजी २० अर्ब २२ करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको २४ करोड २० लाख ६३ हजार किलोग्राम आयात गरिएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको ११ महिनामा १४ अर्ब ४२ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको २० करोड ९० लाख ४३ हजार लिटर खाना पकाउने ग्यास आयात भएको थियो।

आन्तरिक र वैदेशिक हवाई उडानका लागि प्रयोग हुने इन्धन एटिएफको आयात ५.७७ प्रतिशतले वृद्धि भएर १ लाख ७० हजार १ सय २८ किलोलिटर पुगेको छ। गत आवको जेठसम्म १ लाख ६० हजार ८ सय ४० किलोलिटर मात्र आयात भएको थियो। हवाई इन्धन आयातमा यो आव सकिन १ महिना बाँकी रहँदा ११ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ भारतीय आयल निगमलाई नेपाल आयल निगमले भुक्तानी दिएको छ। गत आवमा ९ अर्ब ११ करोड ७९ लाख रुपैयाँ बराबरको हवाई इन्धन जेठ महिनासम्ममा वीरगन्ज नाका हुँदै आयात भएको थियो।

सरकारले व्यापार घाटा नियन्त्रणका लागि महँगा सवारीसाधन आयातमा राजस्वको दर उच्च बनाए पनि आयात नियन्त्रण हुन सकेको छैन। विद्युतीय ऊर्जाबाट चल्ने सवारीसाधन आयातमा सहुलियत प्रदान गरिए पनि आयात परिमाण ज्यादै न्यून भएकाले पेट्रोलियम इन्धनको खपत कटौती हुन नसकेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।