काठमाडौं- लागूऔषध मुद्दामा जेल सजाय भोगिरहेका ४ श्रीलंकाली नागरिकलाई मृत्युदण्ड दिने निर्णयको विरोधमा नेपालका मानवअधिकारवादी संघसंगठनले मंगलबार काठमाडौंस्थित श्रीलंकाली दूतावास घेराउ गरेका छन्।
व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित गर्न, उनीहरूको जीवनरक्षा गर्न र श्रीलंकाको कानुनबाट मृत्युदण्डको प्रावधान हटाउन माग गर्दै उनीहरूले नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ण परेरामार्फत त्यहाकाँ राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्नै राजदूत परेराले मानवअधिकारवादीहरूले उठाएको मागलाई आफूले गम्भीर रूपमा लिएको र पत्र तत्काल राष्ट्रपतिसमक्ष पु¥याइने वचन दिएकी छन् । एम्नेस्टी इन्टरनेसनल नेपालको अगुवाइमा भएको दूतावास घेराउ कार्यक्रममा विभिन्न मानवअधिकारवादी संघसंगठनले ऐक्यबद्धता जनाएका थिए ।
गत असार ११ गते श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्न अधिकारपत्रमा हस्ताक्षर गरेका थिए। श्रीलंका सरकारले सार्वजनिक विज्ञापन आह्वान गरी ती चारजनालाई सफाया गर्ने व्यक्तिसमेत छनोट गरिसकेको छ।
त्यसैले अब छिट्टै ती चार जनालाई फाँसी हुने प्रबल सम्भावना रहेकाले उनीहरूको जीवन बचाउन राजदूतावासमार्फत त्यहाँको सरकारको ध्यानाकर्षण गराइएको एम्नेस्टी नेपालले जनाएको छ । विगत ४३ वर्षदेखि मृत्युदण्ड दिन रोक लगाइएको श्रीलंकामा सो प्रावधान फेरि ब्युँताउन खोजेको भन्दै विश्वभरबाट आलोचना भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४