काठमाडौं- साढे ३३ किलो सुन तस्करीमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्।
न्याय परिषद्को सोमबार साँझ बसेको बैठकले न्यायाधीश सिंहलाई सेवाबाट बर्खास्त गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा २ वर्षसम्म रोक्ने निर्णय गरेको छ ।
सिंह सोमबारदेखि नै पदमुक्त भएका छन्। परिषद् प्रवक्ता मानबहादुर कार्कीले सिंहलाई बर्खास्त गरिएको र अन्य दुई जना न्यायाधीशको बढुवा रोकिएको जानकारी दिए ।
यी न्यायाधीशलाई यसअघि सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको थियो।
यसअघि छानबिनमा परेका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेल, न्यायाधीशहरु सारंगा सुवेदी र जनक पाण्डेलाई आइन्दा अदालत र न्यायाधीशको मर्यादा राख्न थप सावधानी अपनाउन सचेत गराइएको थियो।
साढे ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक कारबाहीमा सन्देह उत्पन्न भएपछि परिषद्ले छानबिन गरेको थियो।
सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समितिले दुई महिना लामो छानबिनपछि गत साता प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनका आधारमा बर्खास्त र बढुवा रोक्ने निर्णय भएको हो। प्रधानन्यायाधीशले अदालतमा सफाइ अभियान चलाउने भन्दै न्यायाधीशहरुमाथि धमाधम कारबाही समेत सुरु गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४