काठमाडौं - नेपालमा झण्डै ५० प्रतिशत प्रतिष्ठान (आर्थिक इकाई जसले आर्थिक क्षेत्रमा योगदान गर्दछ) विना दर्ता नै सञ्चालन भएका छन्। सोमबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय गणना २०७५ अनुसार नेपालभर ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठान रहेको र त्यसमध्ये ४९.९ प्रतिशत अर्थात् ४ लाख ६० हजार ४२२ वटा प्रतिष्ठान दर्ता नभइ सञ्चालन भएका छन्।
त्यसैगरी ४ लाख ६२ हजार ६०५ वटा प्रतिष्ठानहरु भने दर्ता भएर सञ्चालन भएका छन्।
देशभर रहेका ति प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना काम गरिरहेका छन् जसमध्ये ३७.७ प्रतिशत महिला र ६२.३ प्रतिशत पुरुष रहेका छन्। नेपालमा दर्ता भएका अधिकांश प्रतिष्ठानहरु काठमाडौं र तराइ क्षेत्रमा केन्द्रित छन् भने कामगर्ने जनशक्ति पनि यही दुई स्थानमा केन्द्रित रहेको पाइएको छ।
त्यस्तैगरी विभिन्न आर्थिक कृयाकलापमा संलग्न भएका महिलामध्ये ३० प्रतिशत महिला म्यानेजर लेवलका रहेको र त्यसमध्ये ५४ प्रतिशत महिला ४० बर्षभन्दा मुनीका नै रहेको तथ्यांक विभागले जनाएको छ ।
आर्थिक क्षेत्रमा ५४ प्रतिशत युवाहरु संलग्न रहेको र सो मध्ये ६३ प्रतिशत युवाहरु कला तथा मनोरन्जन व्यवसायमा लागेको तथ्यांक पनि विभागले सार्वजनिक गरेको छ।
आर्थिक क्षेत्रमा संलग्न ७५ प्रतिशत जनशक्ति सरकारी कार्यालयमा दर्ता भएका कम्पनीमा काम गर्ने र २५ प्रतिशत जनशक्ति मात्र दर्ता नभएकोमा काम गर्ने पाइएको छ। त्यस्तैगरी २०७२ सालयता ४० प्रतिशत कम्पनीहरु दर्ता भएका छन् भने ४० वर्ष पुराना कम्पनीहरु विस्तारै घट्दै गएको विभागका उप–महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।
नेपालका जम्मा ६ प्रतिशत प्रतिष्ठानहरु आधुनिक मलमा कार्यालय भएका छन् भने करिब ९ लाख प्रतिष्ठानहरु एक स्थानमा मात्र कार्यालय भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४