मंगलबार, साउन २६, २०८३

विवेकशीलविरुद्ध निर्वाचन आयोगमा नयाँशक्तिको उजुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ।

नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आइतबार आयोगमा उजुरी दिएको हो।

विवेकशील नेपाली दल केही समयअघि साझा विवेकशील पार्टीबाट फुटेको थियो। फुटेपछि दुबै पार्टीले आफ्नो नाम परिवर्तन गरेका छन्।

युनियनको तर्फबाट केन्द्रीय सचिव डा. रादेव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन्। साथै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत भेटेर उजुरी बुझाएका छन्।

‘विवेकशील नेपाली दल’ले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र उक्त करोडौं विदेशी रकम चुनावी प्रयोजनका लागि खर्च गरेको हुन सक्ने भएकाले यस विषयमा छानबिन र कारबाही हुनुपर्ने मागसहित यो उजुरी पेश गरेका छौं।’ उजुरीमा भनिएको छ। 

नेपालमा २०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये २ करोड ५० लाख बूढानिलकण्ठ स्कूलको पूर्व विद्यार्थी समाज (सेब्स)मा जम्मा गरिएको देखिएको युनियनको भनाइ छ।

साथै ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य सेब्सको वेबसाइटमा उल्लेख गरिएको तर बाँकी २ करोड १० लाख रुपैयाँको हिसाबकिताब कहीँकतै सार्वजनिक नगरिएको उजुरीमा उल्लेख गरिएको छ।

विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा स्वयंले टेलिभिजन अन्तर्वार्ताहरुमा सेब्स नर्थ अमेरिका र अन्य केही गैरसरकारी संस्थाहरुबाट सहयोग लिएको स्वीकार गरेका थिए।

नेपाली कानुनअनुसार कुनै पनि स्वदेशी र विदेशी गैरसरकारी संस्थाबाट नेपाली राजनीतिक पार्टीले सहयोग लिन नपाउने व्यवस्था रहेको युनियनले आयोगलाई स्मरण गराएको छ।

‘नेपालमा राजनीतिक दलसम्बन्धी कानुनअनुसार विदेशबाट परोपकारी वा अन्य कुनै पनि किसिमको कामको लागि आएको रकम राजनीतिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था रहेको कुरा अवगत नै छ। अमेरिकी कानुनअनुसार पनि सामाजिक कार्यका लागि उठाइएको रकम कुनै पनि राजनीतिक पार्टीलाई सहयोग गर्न नमिल्ने व्यवस्था रहेको छ। यसरी नेपाली र अमेरिकी दुवै कानुनको उल्लङ्घन अमेरिकी नागरिक सिटौलाले गरेको पाइएको छ। अतः यस विषयमा पनि आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं।’,उजुरीपत्रमा भनिएको छ। 

किरण सिटौलाले निर्वाचित सांसद तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नामै उल्लेख गरी बदनाम र बेइज्जती गर्ने मनसायले सामाजिक सञ्जालमा वक्तव्य राखेकोप्रति पनि गम्भिर ध्यानाकर्षण भएको युनियनको भनाइ छ।

‘अमेरिकी नागरिकले नेपालका सम्मानित राजनीतिक नेता तथा जनप्रतिनिधिको उपहास एवं अवमूल्यन गर्नु समग्र देशभक्त नेपालीहरुको स्वाभिमानमाथिको प्रहार भएको हाम्रो ठहर छ। त्यसैले यस विषयमा पनि हामीले सम्मानित निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं।’, उजुरीमा भनिएको छ।  

नयाँ शक्ति विद्यार्थी युनियन नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन हो। हाल नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएर समाजवादी पार्टी नेपाल गठन भइसकेको छ। तर, विद्यार्थी संगठनको भने एकता प्रक्रिया पूरा भइसकेको छैन।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।