काठमाडौं - सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ स्थायी घर भएकी सावित्रा भट्टराईको आइतबार हत्या भयो। भक्तपुर चाँगुनारायण नगरपालिका–७ बासँघारीमा छोरी ईश्वरी, ज्वाइँ र नातिसँगै बस्दै आएकी सावित्राको हत्यामा ईश्वरीकै मुख्य भूमिका रहेको अनुसन्धानबाट खुलेको छ।
यसरी भयो घटना
६१ वर्षीया सावित्रा पौडेलको धारिलो चक्कु प्रयोग गरी घाँटी रेटेर हत्या भयो। गार्मेन्टमा काम गर्दै आएकी ईश्वरीको त्यहीँ मोहम्मद नौसुद खानसँग प्रेम सम्बन्ध बस्यो । नौसुद सिरहा कल्याणपुर नगरपालिका–४ का हुन् । नौसुदसँग छोरीको सम्बन्ध सावित्रालाई मन परेन ।
सावित्रीले एक दिन छोरी ईश्वरी र नौसुदलाई गाली गरिन् । घटनाको दुई दिनअगाडि पनि नौसुद ईश्वरीलाई भेट्न पुगेका थिए ।
यसरी पे्रममा तगारो भएको भन्दै ईश्वरीको योजनामा आमाको हत्या भएको अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखाले सावित्राको हत्यामा संलग्न भएको भन्दै चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईश्वरी, नौसुद, भारत अशोकनगरका अर्जुन कुमार भनिने भोला कुमार, मधुवनका मोहम्मद रहिस छन् ।
पे्रमीपे्रमिकाको योजनाअनुसार भारतबाट बोलाइएका अर्जुन कुमार भनिने भोला कुमार र मोहम्मद रहिसले सावित्राको घाँटी रेटेको प्रहरीले जनाएको छ । सावित्रीकीे हत्याबापत छोरी ईश्वरीले १२ लाख सुपारी दिने सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ ।
भारततर्फ भाग्दै गरेका भोला कुमार र मोहम्मद रहिसलाई अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडाबाट पक्राउ गरेको छ । ईश्वरी र नौसुद खान धादिङको गजुरीबाट पक्राउ परेका छन् ।
कसरी बस्यो प्रेम ?
गार्मेन्टमा काम गर्ने क्रममा ईश्वरी र नौसुदको चिनजान एक वर्षअघि भएको थियो। उनीहरूको प्रेमसम्बन्धबारे आमा सावित्रा र ईश्वरीका श्रीमान्लाई थाहा थिएन। बाहिर हल्ला बढेपछि ईश्वरीले प्रेमी मोहम्मद नौसुद खानलाई वैदेशिक रोजगारीमा दुबई पठाइन् । तर दुवैजना छुट्टिएर बन्न नसकेपछि नौसुद केही महिनामै नेपाल फर्किए ।
नौसुद ईश्वरीलाई भेट्न उनकै घर चाँगुनारायण गइरहन्थे । दुवै जनाको सम्बन्धबारे सावित्रा र ईश्वरीका श्रीमान्ले हत्याको दुई दिन पहिले मात्र थाहा पाएको अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४