काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ। पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको बताए।
निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन्। ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ। निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन्। ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए। निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ।
यस वर्ष जेठसम्ममा रु २७ करोड राजस्व सङ्कलन भइसकेको छ। हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४