भक्तपुर- सिन्धुपाल्चोक ५ स्थायी घर भएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा उनकै छोरी संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।
प्रेम सम्बन्धमा आमा बाधक बनेको भन्दै छोरी इश्वरी भट्टराईले १२ लाख रुपैयाँ सुपारी दिएर आमाको हत्या गराएको खुलासा भएको हो ।
सावित्रीको भक्तपुरको चाँगुनारायण ७ बाँसबारीमा आइतबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोमा प्रहरीले मृतककी छोरी २७ वर्षकी इश्वरी भट्टराई, इश्वरीकी प्रेमी २३ वर्षीय मोहम्मद नौसाद, भारतीय नागरिकहरु अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रहिसलाई पक्राउ गरेको छ ।
उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत सार्वजनिक गरेको छ । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मृतककी छोरी इश्वरी र सिरहाको विष्णुपुर १ का मोहम्मद नौसादबीच प्रेम सम्बन्ध थियो । उक्त कुरा आमा सावित्रीलाई थाहा थियो । यसले गर्दा आफ्नो प्रेमसम्बन्धबारे बाहिर कुरा आउछ भनेर छोरी इश्वरीले प्रेमी नौसादसँग मिलेर आमालाई मार्न १२ लाखको सुपारी दिन सहमत भइन्।
उनीहरुले भारतीय नागरिक भोलाकुमारसँग सल्लाह गरेर मोहम्मद रहिसलाई नेपाल बोलाई हत्या गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४