काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'को स्कुलिङ्ग एउटै छ। जनयुद्ध पनि उनीहरुले एउटै संगठनबाट लडेका हुन्।
प्रचण्ड सुप्रिमो थिए भने बादल सैन्य संगठनको नेता। अहिले अवस्था फरक छ। प्रचण्ड नेतृत्वको नेकपाले सत्ता सञ्चालन गरेको छ भने विप्लवले आफै खडा गरेको नेकपा प्रतिबन्धित संगठन छ।
जनयुद्धबाट आएका प्रचण्ड नेतृत्वको शक्ति कम्युनिष्ट मार्गबाट भट्केको र पुजीबादी दलाल भएको निष्कर्ष निकाल्दै बादलले सशस्त्र संघर्ष थालि सकेका छन्। सशस्त्र संघर्षको औपचारिक घोषणा नगरेपनि विप्लवको गतिविधि सशस्त्र नै हो। जसकारण सरकारले उसमाथि प्रतिबन्ध लगाएको छ।
सरकारी पक्षबाट विप्लवका दुई जना नेता मारिएका छन् भने आफ्नै त्रुटीका कारण करिब आधा दर्जन विप्लवका नेता मारिएका छन्।
राज्यबाट नेताहरु मारिएपछि आक्रोसित बनेका बादलले 'केपी-पीके दलाल सरकार' भनी चर्चामा ल्याए। प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधान शत्रु माने।
झन् नेता तिर्थ घिमिरे प्रहरीको गोलीबाट मारिएछि विप्लव र उनका नेताहरुले 'केपी-पीके' सरकारमाथि धावा बोल्दै गए। पार्टीमाथि प्रतिबन्ध लागेपछि विप्लव ओली र प्रचण्डमाथि आक्रमक भएका थिए।
भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थ घिमिरे मारिएपछि विप्लवले जारी गरेको विज्ञप्तिमा 'केपी-पीके' नेतृत्वको सरकारको चर्को आलोचना गरिएको थियो। तर, सर्लाहीका नेता कुमार पौडेल मारिएपछि 'केपी-बादल'माथि आक्रोस पोखिदैछ।
पौडेलको मृत्यु पछि विप्लवले लेखेको एक आर्टिकलमा ६ स्थानमा 'केपी-बादल' शब्द राखेर बदला लिने भाव व्यक्त गरिएको छ।
तर, त्यसअघि जेठ १३ गते तीर्थ घिमिरे मारिएको आक्रोसमा विप्लवले जारी गरेको विज्ञप्तिमा 'केपी-पीके'को चर्चा छ। असार १० गते विप्लवले बन्द सफल भएको भन्दै जारी गरेको विज्ञप्तिमा पनि 'केपी-पीके'को चर्चा छ।
तर, असार ३ र ६ मा विप्लवले जारी गरेको विज्ञप्तिमा ओलीमाथि मात्र आक्रोस पोखिएको छ। विज्ञप्तिमा प्रचण्ड (पीके)को चर्चा छैन।
विप्लव समूहका प्रवक्ता भनिएका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले जेठ २० मा जारी गरेको विज्ञप्तिमा 'केपी-प्रचण्ड' प्रति आक्रोस व्यक्त गरिएको छ। तर, त्यसको चार दिन पछि जेठ २४ मा जारी गरेको विज्ञप्तिमा 'ओली-बादल'को चर्चा छ।
अर्थात विप्लव समूह अहिले प्रचण्डप्रति नरम हुँदै 'केपी र बादल' प्रति आक्रमक हुँदैछन्। जेठको अन्तिमबाट प्रचण्डप्रति विप्लव नरम हुनुको अर्थ गम्भीर छ।
विप्लव निटक स्रोतका अनुसार प्रचण्डले विप्लवमाथि लगाइएको प्रतिबन्धको पनि विरोध गर्दै आएका छन् भने विप्लवका कार्यकर्ताहरु मारिएको विषयमा प्रचण्डको सरकारसँग असहमति रहेको छ।
सत्तारुढ नेकपाभित्रै ओली र प्रचण्डबीच विवाद देखिएपछि विप्लवले त्यसको फाइदा उठाउन खोजेको देखिन्छ।
प्रचण्डले पनि पछिल्लो समय आफूहरु पनि मारिन सक्ने सम्भावना थियो भन्ने अभिव्यक्ति दिएका छन्। प्रचण्डको उक्त अभिव्यक्तिलाई विप्लवसँग जोडेर हेर्ने हो भने विप्लव र प्रचण्ड जेठ महिनापछि निटक भएको देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४