काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार (आज)बाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।
३ हजार मिटर लामो धावन मार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै आजबाट दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
आजबा पूर्ववत रूपमै विमानस्थल सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। धावन मार्ग मर्मत गर्नका लागि विगत ३ महिनादेखि विमानस्थल दैनिक १० घण्टा बन्द गरिदै आएको थियो ।
झन्डै ४० वर्षपछि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। जसका कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्।
चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार तोकिएकै गुणस्तर र समयमै धावनमार्गको निर्माणको काम सकिएको हो ।
त्रिभुवन विमानस्थलमा दैनिक औसत ४ सय पटक उडान र अवतरण हुने गर्दछन्। नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।
धावनमार्गको काम सकिए पनि विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ।
जुन काम अबको २ महिनापछि शुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ।
उक्त काम भने आगामी वर्षको असारसम्ममा मात्रै सकिने अनुमान गरिएको छ। धावनमार्गलगायतको कामका लागि ३ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४