काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले गैरकानुनी तवरबाट आर्जन गरेको पैसा एक सुब्बाको खातामा जम्मा गरेको खुलासा गरेको छ । पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो ।
अकुत सम्पति आर्जन गरेको आरोपमा अख्तियारमा बयान दिएका नासु झाले डेढ करोडभन्दा बढि सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
२०४० साल असार १७ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म जागिरे अवधिमा उनले २ करोड २८ लाख ६४ हजार रुपैँया वैध आर्जन गरेकोमा ३ करोड ८५ लाख रुपैयाँ जोडेको भेटिएको हो । अख्तियारले उनीविरुद्ध १ करोड ५६ लाख रुपैयाँ गैरकानुनी सम्पत्तिआर्जनको अभियोग लगाएको छ ।
यस्तै जनप्रतिनिधि नै विकासका बाधक शीर्षकको खबरलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
जनप्रतिनिधिको व्यक्तिगत स्वार्थका कारण विकासका काम रोक्ने परिपाटी मौलाएपछि स्थानीय निराश बन्न थालेका छन् । आपसी हानाथाप र कमिसनमा कुरा नमिल्दा विकास योजना प्रभावित भएको छ भने विनियोजन बजेट खर्च नभई फिर्ता हुने अवस्था सृजना भएको समाचारमा जनाइएको छ ।
आजको कान्तिपुर दैनिकले भने रोपाइँ १४ प्रतिशत मात्रै शीर्षकमा मुख्य समाचार छापेको छ। उसले यो वर्ष धान उत्पादन घट्ने उपशीर्षकमा पनि खबर लेखेको छ।
मनसुन ढिला भित्रिनु र समयमै मल किसानको हातमा नपुग्दा यो वर्ष ५ प्रतिशत धान उत्पादन घट्ने सरकारले प्रक्षेपण गरेको छ। कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । यसमा अब केहि ह्रास हुने जनाइएको छ।
यस्तै १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा अहिलेसम्म १४.२५ प्रतिशत भुभागमा मात्रै रोपाइँ भएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले लुम्बिनी विकास कोष क्षेत्र वरपरको १५ किमि क्षेत्रभित्रका सिमेन्ट उद्योगसहित सबै कारखाना बन्द गर्न सर्वोच्चले दिएको आदेशलाई पनि प्राथमिकताका साथ छापेको छ। उद्योगहरुलाई त्यस क्षेत्रबाट अयन्त्रै सार्न पनि अदालतले निर्देशन दिएको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने रोपाइँको नाटक शीर्षकमा मुख्य समाचार छापेको छ । ३६४ दिन माटोसमेत नछुने नेताहरु वर्षमा १ दिन हिलोमा पसेर धान रोपाइँको नाटक गर्ने गरेको विषयलाई उसले उठाएको छ ।
कृषिप्रधान देशमा किसान सर्वाधिक उपेक्षित छन्। बेलामा मल पाउँदैनन्। सिँचाइ अभाव व्याप्त छ। उन्नत बीउ गाउँमा पुग्दैन। तिनीहरूसामु ठाँटिएर पुगेका नेताहरू बर्सेनि रोपाइँको नाटक गर्छन्।
बाजागाजासाथ आयोजना हुने यस्ता नाटकमा राजनीतिकर्मी मात्रै होइन, मन्त्री, सेलिब्रेटी, कर्मचारी र स्थानीय जनप्रतिनिधि पनि सहभागी हुन्छन्। यो वर्ष पनि यस्तो ‘नौटंकी’ विभिन्न स्थानमा मञ्चन भएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४