काठमाडौं- पाँच दिनयता उठ्न नसकेको काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले छलफल अघि बढाएको छ।
काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्षेत्र नुवाकोटको सिसिडोलबाट आएका स्थानीयहरुसँग महानगरले छलफल सुरु गरेको हो।
सिसडोल फोहोर व्यवस्थापन संघर्ष समिति र काठमाडौं महानगरपालिका वातावरण विभागबीच जारी बैठकमा उनीहरुले उठाएका मागबारे छलफल भइरहेको छ।
विभिन्न माग सहित सिसिडोलका बासिन्दाले उपत्यकाबाट फोहोर लिएको गाडी रोकेपछि पाँच दिनदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन।
सिसडोल भरिसकेको कारण व्यवस्थापन अस्तव्यस्त भएसँगै सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटका कारण उत्पन्न भएको समस्यालाई सम्बोधन गर्नेुपर्ने माग सिसडोलका स्थानीयको रहेको छ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। पाँच दिनको अवधिमा थुप्रिएको ५ हजार टन फोहोर सडकमै अस्तव्यस्त छ।
फोहोर थुप्रिएसँगै काठमाडौं दुर्गन्धित बन्न थालेको छ। फोहोर बढ्दै गएको अवस्थामा उपत्यकामा संक्रमण फैलने खतरा रहेको चिकित्सकहरूको भनाइ छ।
तीन वर्षको लागि भनि सिसडोलको ल्यान्ड फिल्डसाइट प्रयोग गर्ने यसअघिको सहमति विपरित १३ वर्षसम्म पनि प्रयोग भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४