काठमाडौं- राष्ट्रिय वृक्षरोपण दिवस २०७६ का अवसरमा नेपाल प्रहरीले देशभरका विभिन्न प्रहरी कार्यालय परिसरमा ४० हजार बढी बिरुवा रोपेको छ ।
प्रहरी प्रधान कार्यालयलगायत देशभरिका प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ४० हजार ८३० बिरूवा रोपिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सो क्रममा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपाती, अम्बा, लिची, आँपलगायत विभिन्न जातका गरी उक्त सङ्ख्यामा फलफूललगायत अन्य बिरुवा रोपिएको थियो ।
प्रहरी प्रधान कार्यालयमा १० हजार र महानगरीय प्रहरी कार्यालय रानी पोखरीअन्तर्गत चार हजार बिरुवा रोपिएको थियो । काठमाडौँलगायत सातवटै प्रदेश प्रहरी कार्यालयमा वृक्षरोपण गरिएको प्रहरीले जनाएको छ ।
वृक्षरोपण अभियानअन्तर्गत नेपाल प्रहरीले आजै सरसफाइ र सचेतनामूलक र्यालीसमेत आयोजना गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४