काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले सत्तारुढ दल नेकपाले जनताको जनवादलाई राजनीतिक कार्यदिशा बनाउन लागेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको नागरिक दैनिकले नेकपाले छाड्यो जबज शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले जनताको जनवादमै एकमत शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले भने दुई अध्यक्षको तस्बिर छापेर अध्यक्ष कटाक्ष शीर्षकको क्याप्सन लेखेको छ ।
सत्तारुढ नेकपाका दुई अध्यक्ष पार्टीको राजनीतिक कार्यदिशा जनताको जनवादलाई नै बनाउन सहमत भएका छन् । लामोसमयदेखि देखिएको अलमल तोड्दै शनिबार अध्यक्ष केपी शर्मा ओलीले जनताको जनवादलाई पार्टी कार्यक्रम बनाएर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन्।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डकै सामुन्ने ओलीले पार्टी कार्यक्रम जनताको जनवाद हुने बताएका हुन् ।
ओलीको यो अभिव्यक्ति आएपछि अब नेकपाको संक्रमणकालीन राजनीतिक कार्यदिशा जनताको जनवाद हुने देखिएको हो । यो सँगै नेकपाले जबज छाड्ने भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।
जनताको जनवाद कि जनताको बहुदलीय जनवाद (जबज) कुन मान्ने भन्नेमा प्रचण्ड र ओलीबीच बिबाद चुलिएको थियो । पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो।
प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ÷बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।
यो विषय बाहेक आजको नागरिक दैनिकले बालुवाखानीका कारण पृथ्वीराजमार्ग दिनहुँ अवरुद्ध हुन थालेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । बालुवा खानी संचालकको बद्मासीका कारण सडक नै अस्तव्यस्त हुँदा पनि उनीहरुमाथि कुनै कारबाही हुन नसकेको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुरले भने त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको विषयलाई मुख्य समाचार बनाएको छ । विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको हो ।
त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते शिलान्यास गरेका थिए ।
शिलान्यासपछि पनि त्रिविअन्तर्गत वनविज्ञान अध्ययन संस्थान हेटौंडाका शिक्षक तथा कर्मचारीले अवरोध गरेकाले काम अगाडि बढ्न सकेको थिएन । शनिबार बिहान त्रिविका प्राध्यापक कर्मचारीले अवरोध गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्रिवितर्फका क्याम्पस प्रमुख विजयकुमार यादवको नेतृत्वमा करिब २२ जनाको टोली निर्माणस्थल पुगेको थियो । प्रहरीले क्याम्पस प्रमुख यादवलाई करिब ५ घण्टा नियन्त्रणमा लिएर पुनः अवरोध नगर्ने सर्तमा छाडेको समाचारमा जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४