मोरङ- जिल्लाको सुनवर्षी नगरपालिका-९ को डायनियामा सेफ्टी ट्यांकीमा डुबेर ४ जनाको मृत्यु भएको छ।
डायनियास्थित एकमस्जिदको कम्पाउण्डमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर अर्का एकजना सख्त विरामी परेका छन्।
मृत्यु हुनेमा सबै मजदुर रहेको जनाइएको छ। मृतकहरुमा मो. फिरोज आलम, मो.ओसिब आलम, कपिल आलम र सहनवाद रहेका छन्। उनीहरु सबै सुनवर्षी-९ का स्थानीय हुन्। गम्भीर विरामी पर्नेमा दाउद मियाँ छन्।
सेफ्टी ट्यांकीमा पस्नासाथ सबै बेहोस भएका थिए। उनीहरुलाई स्थानीको सहयोगमा प्रहरीले ट्यांकीबाट निकालेर विराटनगरस्थित गोल्डेन अस्पताल पुर्यालगत्तै चिकित्सकले ४ जनालाई मृत घोषणा गरेका थिए।
ट्यांकीभित्र पसेका व्यक्तिहरू अचेत अवस्थामा रहेको खवर प्राप्त हुनासाथ तत्काल प्रहरीचौकी डायनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४