काठमाडौं- सभामुख कृष्णबहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताएका हुन्।
सार्वजनिक जग्गा, बन पोखरी, सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्ने सन्र्दभमा उनले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताएका हुन्। उनले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा दिए।
उनले भने, ‘प्रदुषण राजनीतिमा पनि छ। अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो। देशै हडप्न खोजेका छन् केही मान्छेहरुले। माफियाहरुले। यो राजनीतिक प्रदुषण हो।’
सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन, पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए। राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्र्तगत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४