काठमाडौं - पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ।
सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलन यही असार १५ र १६ गते राजधानीमा हुनेछ। श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले सम्मेलनका क्रममा स्वदेशका सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाई श्रम बजारको मागबमोजिम दक्ष जनशक्तिको विकास गर्न आवश्यक नीति, योजना र कार्यक्रम तय गरिने बताए। “आन्तरिक रोजगारीको प्रवर्द्धन नै सम्मेलनको मुख्य उद्देश्य हो”, उनले भने।
सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ। सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ। विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन्।
प्राविधिकसत्रमा विशेषगरी उद्योग, जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रका बारेमा नीतिगत छलफल, रोजगारीको सम्भावनाको खोजी गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४