काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कारवाही सुरु भएपछि कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा भइरहेका दमन विरुद्ध उठेर विरोध जनाएका थिए।
विरोध जनाएपछि सभामुख महराले कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिएका थिए। उनले बर्दियाका युवाले मन्त्रीलाई कालो झण्डा देखाउँदा प्रहरीले नियन्त्रणमा लिई कुटपिट गर्दा निधन भएको घटना सेलाउन नपाउँदै काठमाडौंमा नेपाल तरुण दलका दिनेशविक्रम शाहलाई प्रहरीले आक्रमण गरी घाइते बनाएकाले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको हनन् भएको बताए।
कञ्चनपुर र बुटवलमा पनि शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई दमन गरिएको नेता खाँणले बताए। कञ्चनपुरमा विभिन्न माग राखेर विरोध गर्ने क्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलगायत घाइते भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उनले माग गरे। प्रमुख सचेतक खाँणले नागरिक अधिकार कुण्ठित गरी धरपकड गर्न थाले सरकारले यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
अमेरिकी नागरिक फिर्ता गरिएको घटना छानबिन गर्न माग
राजपाका सांसद राजकिशोर यादवले पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक माग गरेकामा प्रधानमन्त्री एवं मन्त्रीहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको बताए। लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा गम्भीर आशङ्का पैदा भएको उल्लेख गर्दै उनले फेरि निर्दोष जनतालाई फसाउने षड्यन्त्र त भएको छैन भन्ने आशङ्का व्यक्त गरे।
त्रिभुवन विमानस्थल अध्यागमनबाट अमेरिकी नागरिकलाई बिना कारण फर्काइएको घटनाको छानबिन गर्न पनि सांसद यादवले माग गरे। यसले राम्रो सङ्केत नगरेको बताउँदै उनले नेपाल र नेपालीको सुरक्षाको जिम्मेवारी लिएर बसेको सरकारले कसैको निर्देशनमा काम नगर्न आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४