काठमाडौं - राजस्व चुहावट गरेको आरोपमा सागर एण्ड साधना विजनेस प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।
ख्यातीप्राप्त ब्राण्डका सामान आयात गरिएपनि भन्सार विन्दुमा झुटो विवरण उल्लेख गरी नेपाल आयात गरेर बिक्री गर्ने सो कम्पनी विरुद्ध विभागले शुक्रबार मुद्दा दायर गरेको हो।
सो कम्पनीले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भन्दै आयात गरी बिक्री गरिरहेको विभागले भेटेपछि सामान जफत गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
कम्पनीले त्यसरी सामान पैठारी गरी दुई करोड ३२ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेकोले त्यसको दोव्वर हुने गरी चार करोड ६४ लाख जरिवाना तथा तीन बर्ष कैद मागदावी गरी मुद्दा दायर गरेको विभागले जनाएको छ।
कम्पनीले फ्लट सोल जुत्ता र स्पोर्ट्स जुत्ता आयात गर्दा चीनमा उत्पादन भएको घोषणा गरेपनि त्यस्ता जुत्ताको उत्पादन भने इन्डोनेशिया, भियतनाम रहेको पाइएको विभागले जनाएको छ।
कम्पनीका सञ्चालकहरु लीलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरेले भन्सार विन्दुमा जुत्ताका कुनैपनि ब्राण्ड उल्लेख नगरिएपनि ति जुत्ताहरु ख्यातिप्राप्त ब्रान्ड रिबुक, एडिडास, फिला, नर्थफेस, नाइकी, पुमालगायत रहेको विभागको अनुसन्धानमा देखिएको थियो। यसरी सामान आयात गर्दा न्यून मूल्यांकन गराई राजस्व चुहावट गरेको विभागको निश्कर्ष छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४