काठमाडौं – यस वर्षपनि सामुदायिक विद्यालयको नतिजा राम्रो आउन नसकेको भन्दै सरोकारवालापक्षले दुःख व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उपस्थित शिक्षासँग आवद्ध सरोकारवालाहरुले सरकारले नीतिगत रुपमै शिक्षाक्षेत्रमा विभेद गरेका कारण सामुदायिक विद्यालयको नतिजा राम्रो आउन नसकेको दाबी गरे। सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गरेको भएपनि नतिजा हेर्दा शुन्य रहेको बताए।
प्यावसनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सामूदायिक विद्यालयमा सरकारले ठूलो साईजमा लगानी गरेको छ, तर, उसको नतिजा हेर्दा परीणाम शुन्य छ । जबसम्म अभिभावकमा जनचेतना, शिक्षण विधि र जवाफदेहिता हुँदैन, तबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन् ।’
यस्तै एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरे। उनले यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक नआएको बताए।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए। उनले अहिलेको शिक्षा पद्धतीनै गलत भएको बताए। उनले यसलाई सच्याउनुपर्ने बताए। व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा भण्डारीले जोड दिए।
यस्तै हिसानका महासचिव लोकबहादुर भण्डारीले सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४