काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता मदन भण्डारीको ६७ औं जयन्ती मनाउँदैछ।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी नेकपाले मदन जयन्ती मनाउन लागेको हो।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने विशिष्ट अतिथि रहेका छन्।
‘प्रधानमन्त्री ओली कमरेड र प्रचण्ड कमरेड दुबै जना अतिथिको रुपमा आउनु हुनेछ। सबै नेताहरुलाई जानकारी गराइएको छ।’ नेकपाका कार्यालय सचिव एवं सांसद कृष्ण गोपाल श्रेष्ठले नेपाल समयलाई भने, ‘६७ औं मदन जयन्तीमा पार्टीले विशेष कार्यक्रम गर्न लागेको छ।’
यसअघि असार २ गते नेकपाको पार्टी कार्यालयमा तत्कालिन माओवादीका नेता रितबहादुर खड्का ‘प्रताप’को १७ औं स्मृति दिवस मनाइएको थियो।
माओवादीका नेता प्रतापको स्मृति दिवसलाई पूर्व एमालेका नेताहरुले बहिस्कार गरेका थिए।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई कार्यक्रममा बोलाइए पनि उनी सहभागी भएनन्।
प्रतापको स्मृति दिवसमा तत्कालीन एमालेका नेताहरु सहभागी नहुँदा कार्यक्रम मै पनि विरोध भएको थियो।
अहिले तत्कालीन एमाले पक्षका मदन भण्डारीको जयन्ती मनाईँदैछ। उक्त कार्यक्रमलाई तत्कालीन माओवादी पक्षका नेताहरुले बहिष्कार गर्ने जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४