काठमाडौं - नेपाली कांग्रेसमा विलय भएको विजय गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसको २ सय महासमिति सदस्य दिइएको छ भने २५ हजारभन्दा बढी सक्रिय सदस्य दिइएको छ।
कांग्रेस र फोरमबीच एकीकरण हुँदा भएको सहमति अनुसार उक्त संख्यामा महासमिति सदस्य र सक्रिय सदस्य गच्छदारलाई दिइएको हो। विमलेन्द्र निधिको अध्यक्षतामा गठित समायोजन समितिको बैठकले उक्त निर्णय गरेको हो।
समितिको शुक्रबार बसेको बैठकले महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई निर्देश गरेको छ।
यसैगरी, फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानबिन गरी निर्णयसहित केन्द्रमा पठाउन भनिएको छ।
फोरमको समायोजन सम्बन्धमा हालसम्म भएका कार्य प्रगतिको प्रतिवेदन २२ गतेबाट सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने तयारी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४