काठमाडौं- भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमातालाई प्रहरीले बाजालुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार (आज) बिहान पक्राउ गरेको हो ।
बुटवलबाट काठमाडौं आएकी धर्तीमाता भनिने विष्णु कुँवरले सार्वजनिकस्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेकी थिइन् । यो घटना सार्वजनिक भएसँगै उनको खोजी गर्न परिसरले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको थियो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुबेदीका अनुसार उनीसँग टेलिफोनमा कुराकानी भएका आधारमा खोजी गर्दा बाजालुबाट पक्राउ गरिएको हो । पक्राउ परेकी धर्तीमाता भनिने कुँवरलाई आजै बिहान ११ बजे परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिदैछ ।
केहि केहि दिन धर्तीमाता उर्फ कुँवरले काठमाडौंको भद्रकाली मन्दिरमा ‘तँ को होस्, छिटो निस्की,’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ। भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ।
कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार यस्तो अपराध गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४