काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।
बोर्डले गत चैतमा लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरिएको हो। सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर (भेरी इन्सफिसेन्ट) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ।
गत चैत ८ देखि सञ्चालित एसईईमा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । प्रश्नपत्र आउट भएपछि प्रदेश २ पनि केही ढिला गरी परीक्षा सम्पन्न भएको थियो।
परीक्षाफलमा चित्त नबुझे पुनर्याेग वापत प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने अधिकारीले बताए।
प्रदेशअनुसार नतिजा

यसरी हेर्नुस् नतिजा
कुन ग्रेड ल्याएका विद्यार्थीले कुन विषय पढ्ने ?
राष्ट्रिय परीक्षा बोर्डका अनुसार निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाइनेछ । एसईईमा कुनै पनि विद्यार्थीले २ जीपीएभन्दा बढी ल्याए मात्र विज्ञान अध्ययन गर्न पाउनेछ ।
यो व्यवस्थाअनुसार न्यूनतम जिपिएस २ सहित एसईई परीक्षामा विज्ञान र गणित विषयमा कम्तीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक शिक्षा तथा नेपालीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त विद्यार्थीले मात्र कक्षा ११ मा विज्ञान समूहका भौतिक, रसायन, जीव, गणित वा कम्प्युटर विज्ञान पढ्न पाउनेछन् ।
११ कक्षा अध्ययनका लागि एसईईमा कम्तीमा १.६ जिपिए ल्याउनैपर्छ । १.६ ल्याउँदैमा पनि चाहेको विषय अध्ययन गर्न पाइँदैन । त्यसका लागि तोकिएको विषयमा निश्चित ग्रेड ल्याउनुपर्छ।
सामान्यतया विज्ञान, गणित तथा अंग्रेजीमा सी ग्रेड एवं सामाजिक शिक्षा तथा नेपालीमा डी प्लस गरी कम्तीमा १.६ जिपिए आए प्राविधिकतर्फ जीवविज्ञान, वनस्पति विज्ञान तथा इलेक्ट्रोनिक, सिभिल वा कम्प्युटर इन्जिनियरिङ पढ्न पाइन्छ ।
गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र विज्ञानमा डी प्लससहित जिपिए १.६ भन्दा बढी ल्याएकाले मात्र गणित, लेखा, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, इलिमेन्ट अफ साइन्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जियोग्राफी एवं साइकोलोजी अध्ययन गर्न पाइन्छ ।
शिक्षातर्फका विषय अध्ययन गर्न विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तीमा सी तथा अंग्रेजी, नेपाली एवं सामाजिक शिक्षामा डी प्लस प्राप्त गर्नुपर्नेछ । ती विषयमा तोकिएको ग्रेडिङ प्राप्त गरे मात्र फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा टिचिङ साइन्स पढ्न पाइनेछ। त्यस्तै अंग्रेजीमा सी, नेपाली तथा सामाजिक शिक्षामा डी प्लस ल्याउने विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंगेजी एवं भाषा विज्ञान पढ्न पाउनेछन् ।
एसईईमा अंग्रेजीमा सी तथा नेपाली, गणित र सामाजिक शिक्षामा डी प्लस ग्रेड प्राप्त भए मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट तथा ट्राभल्स एन्ड टुरिज्म पढ्न पाइनेछ । नेपालीमा सी, अंग्रेजी तथा सामाजिक शिक्षामा डी प्लस प्राप्त भए नेपाली र टिचिङ नेपाली विषय अध्ययनका लागि बाटो खुल्छ ।
सामाजिक शिक्षामा सी र नेपाली तथा अंग्रेजीमा डी प्लस ल्याउने विद्यार्थीले कक्षा ११ मा पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी तथा इन्फरमेसन साइन्सजस्ता विषय अध्ययन गर्न पाउनेछन् ।
जनसंख्या तथा शारीरिक शिक्षामा सी तथा नेपाली, अंग्रेजी एवं विज्ञानमा डी प्लस ल्याउने विद्यार्थीले इन्ट्रोडक्ट टु एजुकेसन, इन्स्ट्रक्सन पोडागोजी, स्वास्थ्य एवं शारीरिक शिक्षा, जनसंख्या र वातावरण शिक्षा अध्ययन गर्न पाउँछन् भने नेपाली, अंग्रेजी एवं सामाजिक शिक्षामा डी प्लस आए ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसनजस्ता विषय पढ्न पाउनेछन् ।
विभिन्न भाषा अध्ययन गर्न रुचाउने विद्यार्थीले भने अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ । अंग्रेजीमा डी प्लस ल्याए मैथिली, हिन्दी, नेपाली, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँका साथै अन्य भाषा अध्ययन गर्न पाइन्छ । त्यसैगरी डान्स, म्युजिक, मूर्तिकला, एप्लाइड आटर््स, स्पोर्ट्सजस्ता विषय अध्ययन गर्न अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ ।