काठमाडौं- नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन्।
बैठकमा नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने उनको भनाई छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसेको पार्टी केन्द्रीय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढ्न पार्टी नेतृत्वलाई दबाव दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाउने भएको हो।
प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनुअघि नै पार्टीका सबै संगठन संरचनाको निर्माण गर्ने योजना रहेको पनि स्पष्ट पारे।
प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि जारी पार्टीका केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताए।
यता, केन्द्रीय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएको दाबी गर्दै उनीहरुको विश्वास जित्नेगरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए।
पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अर्कमण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्ने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जानकारी दिए।
मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टी भित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन पनि पार्टी नेतृत्वलाई सचेत गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४