काठमाडौं – आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति असार २७ गते आउने भएको छ। सरकारले लिएको वित्तिय नीतिलाई सहयोग पुर्याउने उद्देश्यका साथ ल्याइने मौद्रिक नीतिमा विषेषगरी बैंक तथा वित्तिय संस्थाहरुको चासो रहने गरेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंकका अध्यक्ष तथा सिइओहरुसँगको गरेको बजेट माथिको छलफलमा मौद्रिक नीति २७ गते ल्याउने गभर्नर डा. चिरन्जीवी नेपालले बताए।
सामान्यतः मौद्रिक नीति कहिले र कसरी ल्याइँदैछ भन्ने बारे जानकारी हुँदैन। मौद्रिक नीति कहिले र कसरी ल्याइँदै छ? भन्ने जानकारी भएमा बैंकहरुले शक्तिकेन्द्र धाएर आफु अनुकुल मौद्रिक नीति ल्याउन दबाब दिन सुरु गर्दछन्। सोही कारण पनि मौद्रिक नीति कहिले आउँछ? भन्ने जानकारी नेपाल राष्ट्र बैंकले दिँदैन।
बैंक तथा वित्तिय संस्थाहरुको लागि सबैभन्दा ठूलो नीति हो मौद्रिक नीति। यसपटकको मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले बिग मर्जरको नीतिलाई विशेष प्राथमिकता दिनेछ। बिहीबारको छलफलमा समेत केन्द्रीय बैंकका अधिकारीहरुले यो विषयमा प्रष्ट संकेत गरेका बैंकरहरुको बुझाई छ।
बैंकहरुलाई २० गतेभित्र आफ्ना लागि उपयुक्त पार्टनरको नामसहित मर्जरका लागि लिखित प्रतिबद्धता पठाउन भनेको छ। मर्जरको पार्टनर आफैं खोज्न नसक्ने बैंकको हकमा भने राष्ट्रबैंक कडा रुपमा प्रस्तुत हुने देखिएको छ।
यस्तै, यसपटकको मौद्रिक नीतिमार्फत बैंकिङ प्रणालीको वित्तीय स्थायीत्व, तरलता समस्याको समाधान लगायतका विषयमा समेत महत्वपूर्ण नीतिगत व्यवस्था हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४