काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति आउनुअगावै मर्जरको प्रतिबद्धता पेस गर्न बैंकहरुलाई निर्देशन दिएका छन्।
राजधानीको होटल याक एन्ड यतीमा बिहीबार भएको २८ वटै वाणिज्य बैंकका सिइओ तथा अध्यक्षसँगको छलफलका क्रममा उनले भने, ‘मौद्रिक नीतिअगावै मर्जको प्रतिबद्धता पेस गर्न आग्रह गर्दछु। बैंकहरु धेरै भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेकाले १५ वटासम्ममा झार्नुको विकल्प छैन।’
मौद्रिक नीति असार अन्तिममा आउने संकेत गभर्नर नेपालले गरे।
कार्यक्रममा राष्ट्र बैंकको सुपरीवेक्षण विभागका तर्फबाट प्रस्तुत गरिएको कार्यपत्रमा बजारमा वित्तीय स्थायित्व कायम गर्न वाणिज्य बैंकहरुको मर्जर तथा एक्विजिसनको विकल्प नरहेको दाबी गरिएको थियो।
गभर्नर डा. नेपालले विभिन्न सार्वजनिक फोरममा नेपाल राष्ट्र बैंकको सबै विभाग चुस्त र दुरुस्त रहेको दाबी गर्दै आएका छन्। डा. नेपालले विभागको सो कार्यपत्रको निष्कर्षलाई नै आधार मानेर मर्जरमा जान दबाब दिएका हुन्।
उनले यसअघिजस्तै बिहीबार पनि बैंकका अध्यक्ष तथा सिइओलाई आफूलाई सुहाउने वाणिज्य बैंक खोज्न आग्रह गरे। सरकारले पनि बजेटमा नै मर्जरलाई प्रोत्साहित गरिनेछ भन्ने शव्द राख्नु नै ठूलो उपलब्धि भएकाले सरकारको नीतिलाई सहयोग गर्न राष्ट्र बैंक तत्पर रहेको उनले बताए।
गभर्नर नेपालले भने, ‘राष्ट्र बैंक मर्जरमा गए तपाइँहरुको मागअनुसार नै सुविधा दिन तयार छ’, उनले भने, ‘तर अब राष्ट्र बैंकलाई झुक्याउने र बहानाबाजी गर्न कसैलाई छुट दिइँदैन।’
बैंकका सिइओहरुका तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले दबाबमूलक रूपमा भन्दा पनि आवश्यक छुट दिएर मर्जर गराउनुपर्ने बताए। उनले राष्ट्र बैंकको सहुलियत पाए बैंकहरु मर्जर जान तयार रहेको प्रतिबद्धता जनाए। छलफलमा सहभागी अध्यक्षहरुले मर्जरपछि उत्पन्न हुने परिस्थितिको विषयमा गम्भीर भएर सोच्न राष्ट्र बैंक नेतृत्वलाई आग्रह गरे। अध्यक्षहरुले पनि देशको अर्थतन्त्र र बैंकको दिगो विकास हुन्छ भने मर्जमा जान तयार रहेको स्पष्ट पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४