काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाईलाई पार्टीकै मन्त्रीले प्रतिवाद गरेका छन्।
अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् छिट्टै हेरफेर हुने बताउँदै आएका छन् भने प्रधानमन्त्री केपी ओलीसँग आलोपालो सरकार चलाउन सहमति भएको दाबी गर्दै आएका छन्।
प्रचण्डको भनाई र दाबीलाई उनकै मन्त्रीले खण्डन गरिदिएका छन्।
असार ५ गते बिहीबार कास्की पुगेर अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् छिटै हेरफेर हुने बताएका थिए।
प्रचण्डले बोलेको एक साता नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले खण्डन गरेका छन्।
महासेठले काठमाडौंस्थित एक साक्षात्कार कार्यक्रममा मन्त्रिपरिषद् हेरफेरको हल्ला चलाइएको दाबी गरेका हुन्। ‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो। यसमा कुनै सत्यता छैन। यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो।’, उनले भने।
प्रचण्डले भन्दै आएको आलोपालो सरकार चलाउने कुराको पनि खण्डन गर्दै मन्त्री महासेठले भने, ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन। मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो।’
मन्त्री महासेठ हाल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्। यसअघि उनी बामदेव गौतमको गुटमा थिए।
प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक गर्न मन्त्री महासेठको अभिव्यक्ति आएको बुझिएको छ।
नेकपाको सचिवालयमा पनि पटक पटक मन्त्री फेर्ने विषयमा छलफल भएको छ। तर, प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न चासो देखाएका छैनन्।
मन्त्री फेर्ने प्रचण्डको यस्तो बोली
भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुलाई बोलाएर मन्त्री परिषद्मा फेरबदल हुने बताएका थिए। त्यसबेला प्रधानमन्त्री ओली देश बाहिर थिए।
तर, प्रधानमन्त्री फर्केलगतै प्रचण्डले आफ्नै बोली फेरे र भने, ‘प्रधानमन्त्रीले गरे अनुसार नै हुन्छ।’
त्यसैगरी गत कार्तिक महिनामा पोखरा पुगेका प्रचण्डले मन्त्री फेरबदल गर्ने बताएका थिए। फागुन २८ मा विराटनगर पुगेका प्रचण्डले मन्त्री फेरिने बताए।
त्यसलगतै पुनः उनले मन्त्रिपरिषद्मा तत्कालै फेरबदल नहुने बताएका थिए।
तर पछिल्लो साता पोखरा पुगेका प्रचण्डले पुनः मन्त्रीहरुको फेरबदल हुने बताएका छन्। जसको खण्डन आफ्नै पार्टीका मन्त्री महासेठले गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४