काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जागरण अभियानको समीक्षा बैठक सुरु गरेको छ। बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को समीक्षा सुरु भएको हो।
समीक्षामा ७७ वटै जिल्लामा पुगेका नेताहरु सहभागी छन्। बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले जिल्ला र तल्लो तहमा पार्टीको अवस्था कस्तो छ भन्ने जानकारी गराउन निर्देशन दिएका थिए।
‘तल्लो तहमा संगठनको अवस्था कस्तो छ? केन्द्रप्रति उनीहरुको धारणा कस्तो छ? तपाईहरुले बुझ्नु भएको होला। हामीलाई सुनाउनुस्’ देउवाले बैठकको सुरुमै भनेका थिए। सभापति देउवाले नेताहरुको माध्यमबाट पार्टीको नाडी छाम्न खोजेका छन्। तर, देउवाले सोचे बमोजिमको प्रतिक्रिया नेताहरुबाट पाएका छैनन्।
बुधबार ४ बजेसम्म १७ जना नेताले बोलेका छन्। बोल्ने अधिकांश नेताहरुले तल्लो तहमा पार्टी कमजोर रहेको प्रतिक्रिया दिएका छन्। केन्द्रकै कारण तल्लो तहमा पार्टी कमजोर भएको प्रतिक्रिया आएको नेता रामकृष्ण यादवले बताएका छन्।
केन्द्रप्रति तल्लो तहका नेता तथा कार्यकर्ताको धारणामा सुधार ल्याउनु पर्ने कुरा नेताहरुले बताएका छन्। पहिलो चरणको जागरण अभियानको समीक्षा पछि दोस्रो चरणको अभियानमा सुधार गर्ने जनाइएको छ।
छलफलमा सिटौला पक्षका नेताहरु देखिएका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४