जनकपुरधाम - धनुषाको विदेह नगरपालिकामा ढुंगामुढा भएको छ। नगरपालिकाको वडा नम्बर ६ मा रहेको जनता मावि गिद्धा बेलापट्टीको विवाद तीव्र भएपछि विद्यार्थी र स्थानीयबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।
विगत केही दिनदेखि विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन अवरुद्ध थियो। त्यसबाट आक्रोशित विद्यार्थीले नगरपालिका कार्यालयविरुद्ध नाराबाजी गरेका थिए।
नगरपालिका कार्यालयले तलब अनुदान रकम रोकेपछि शिक्षक आन्दोलित थिए। पठनपाठन सञ्चालन गराउन भन्दै केही विद्यार्थी मेयर बेचन दासलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए। सोही क्रममा मेयर समर्थित केही व्यक्ति र विद्यार्थीबीच विवाद भएको थियो। विवादपछि ढुंगा हानाहान भएको जनाइएको छ।
मेयर दासले विद्यालयका प्रधानाध्यापक पवन मण्डलले कार्यालयमा ढुंगामुढा गर्न लगाएको दाबी गरेका छन्। नगरपालिकाले कारबाही गरेर सरुवा गरिसकेको प्रधानाध्यापक मण्डलले ३०/४० जना गुन्डा भिडाएर कार्यालयमा ढुंगामुढा गर्न लगाएको उनको भनाइ छ।
ढुंगामुढाबाट नगरपालिकाले प्रयोग गर्दै आएको गाडी, कार्यालयको झ्यालको सीसा र पार्किङ गरेर राखिएका केही मोटरसाइकलमा क्षति पुगेको दासले बताए।
विद्यालयमा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले ५ वैशाखमा प्रधानाध्यापक मण्डलको सरुवा गरेको थियो। मण्डलको सरुवा भएपछि विद्यालयमा विवाद मौलाएको हो।
यता मण्डलले भने गैरकानुनी तरिकाले गरिएको सरुवा नमान्ने भन्दै विद्यालयमा उपस्थित हुँदै आएका छन्। मेयर दासलाई कमिशन दिन नमानेपछि विद्यालयको रकम रोक्का गरेको उनले दाबी गर्दै आइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४