मंगलबार, साउन २६, २०८३

विस्फोट गराउने विप्लवका पाँच सय 'टाइमर पिन' कहाँ छन्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भारतीय नाका हुँदै नेपाल ल्याएका ५ सय ‘टाइमर पिन’ बारे सुरक्षा निकाय बेखबरजस्तै छ।

नेकपाले देशका विभिन्न ठाउँमा विस्फोट गराउन टाइमर पिन प्रयोग गर्दै आएको सुरक्षा निकायकै दाबी छ। प्रेसर कुकर र सकेट बममा टाइमर पिन जडान गरेपछि तोकिएको समयमै विस्फोट हुन्छ।

जासुसी संयन्त्रले पाएको गोप्य सूचनाअनुसार विप्लव समूहले गत वैशाखमा भारत नाका हुँदै ५ सय टाइमर पिन भित्र्याएको हो। उक्त टाइमर काठमाडौंमा पनि भित्र्याएको सूचना गृहमन्त्रालयले समेत पाइसकेको दाबी गरिएको छ।  

सरकारले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि उसले पटकपटक नेपाल बन्दका कार्यक्रम गर्दै आएको छ। सो समूहले बन्दको प्रभाव बढाउन राजधानीका महत्त्वपूर्ण स्थानमा विस्फोट गराउँदै आएको छ।

विप्लव समूहले काठमाडौंको सुकेधारा, अनामनगर र नख्खुमा गराएको विस्फोटमा  चार जनाले ज्यान गुमाएका थिए। 

विप्लव समूहले भारतीय नाका हुँदै भित्र्याएका टाइमर पिन नियन्त्रण लिन गृह प्रशासनले खासै चासो देखाएको छैन। पाँच सय टाइमर सहरी क्षेत्रमा विस्फोट भए जनधनको ठूलो क्षति हुन सक्छ।

विप्लव समूहले मंगलबार गरेको बन्दमा पनि दुई दर्जन बढी स्थानमा बम फेला परेका छन्। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘विस्फोटक पदार्थ काठमाडौं उपत्यकामै भित्र्याएको भन्ने होइन। यद्यपि यस विषयमा प्रहरीले गोप्य सूचना संकलन गरिरहेकै छ।’

उनले विप्लव समूहका गतिविधि निरन्तर निगरानी र अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘विप्लव समूहसँग उपत्यकालगायत संवेदनशील ठाउँमा विस्फोट गराउने र शान्तिसुरक्षा खलबल्याउने सामर्थ्य पनि देखिँदैन। उसले आफ्नो उपस्थिति देखाउने केही स्थानमा विस्फोटको प्रयास गरेको छ।’ पछिल्लो समय भएका छिटपुट घटना नियन्त्रणका लागि गोप्य सूचना संकलन, निगरानीसँगै अपरेसन सञ्चालन गरिरहेको उनले बताए।
 
विप्लव समूहले मंगलबार आह्वान गरेको बन्दमा काभ्रेको धुलिखेलस्थित हस्पिटल चोक, पनौती नगरपालिकाको खोपासी जाने पुल र पनौती बसपार्क चोकमा राखिएको बम सेनाको टोलीले  डिस्पोज गरेको छ। 

ललितपुरको जाउलाखेलस्थित खेलमैदान नजिकै बम भेटिएको छ। त्यस्तै बर्दियाको कर्तनिया चोकमा भेटिएको दुई वटा प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गराएको छ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ र ७ को वडा कार्यालय नजिकै बम फेला परेको छ। मालारानी–१ स्थित मडेलचौरमा डोजरमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले  डिस्पोज गराएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।