काठमाडौं- ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा केही महिनाअघि सुरु भएको बच्चा प्रकरण अहिलेसम्म समाप्त भएको छैन।
अस्पतालमा ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको थियो। अस्पतालको लापरवाहीले डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको भन्दै परिवारजनले बच्चाको उपचारको व्यवस्था अस्पतालले गर्नुपर्ने माग राख्दै आएको छ।
तर, मेडिसिटीले भने उक्त माग अस्वीकार गरेपछि विवाद बढ्दै गएको हो।
पूर्व सांसद गायत्री साहले फागुन २८ गते उक्त बच्चा जन्माएकी थिइन्। त्यसअघि पनि मेडिसिटी अस्पताल मै चेकजाँच गराउँदै आएकी पूर्व सांसद साहले ‘डाउन सिन्ड्रोम’ भएको बच्चाबारे आफूलाई पहिले अस्पतालले जानकारी नगराएको बताउँदै आएकी छिन्।
अस्पतालकी डाक्टर तथा साहको गर्भावस्थामा चेकजाँच गर्दै आएकी डा.नीरा सिंहले डाउन सिन्ड्रोम बारे जाँच गर्न अस्पतालको नियमावलीले नदिएको दाबी गछ्र्रिन्।
यसअघि बच्चामा डाउन सिन्ड्रोमका कारण गर्भपतन गराइएको भन्नबारे पनि आफूलाई जानकारी नभएकोले त्यस्तो चेकजाँच नभएको सिंहको भनाई छ।
अस्पताल र साह परिवारबीचको विवाद बढ्दै गएपछि बच्चालाई अस्पतालमै छोडेको भन्दै साह दम्पतिलाई प्रहरीले पक्राउ गरेको थियो।
मेडिसिटी अस्पताल परिसरबाटै पक्राउ परेका साह दम्पतिलाई अदालतले छोड्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध मेडिसिटी अस्पतालले उच्च अदालत ललितपुरमा रिट निवेदन दिएको छ।
तीन महिनाभन्दा बढी भइसकेको उक्त बच्चालाई अहिले मेडिसिटीको जनरल वार्डमा राखिएको छ। बच्चालाई साह दम्पतिले हेरचाह गर्दै आएको छ।
तर, अस्पतालले आफूहरुलाई बच्चाको हेरचाहमा समस्या सिर्जना गरिरहेको साह दम्पतिको आरोप रहेको छ।
बच्चाको आमा वा कुरुवाका लागि बेड उपलब्ध गराउन अस्पतालले अस्वीकार गर्दै आएपछि साह दम्पतिले भुँईमै बसेर दुध खुवाउने गरेका छन्।
अस्पतालले आफूहरुको मागमाथि सुनवाई गर्नुको साटो आफूहरुलाई कारवाही गराउन लागेको भन्दै बच्चाका बुबा राजेश साहले आक्रोश व्यक्त गरेका छन्।
डाउन सिन्ड्रोम भएको बच्चा समान्य हुँदैन। जन्मेदेखि नै विभिन्न रोगको सामना गर्नुपर्ने हुन्छ। उक्त बच्चाको आयु पनि छोटो हुने गरेको डाक्टरहरु बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४