काठमाडौं- अवैध सुन कारोबारमा संलग्नमाथि निगरानी बढाइएको छ। स्रोत नखुलेको र तोकिएभन्दा बढी सुन राख्नेमाथि प्रहरीले निगरानी बढाएको हो।
कञ्चनपुर झलारीका लक्ष्मण तिरुवा गत फागुन २ गते अवैध सुनसहित पक्राउ परे। उनले भारतबाट ल्याएको ५ केजी सुन शुक्लाफाँटस्थित घरभित्र खाल्डो पुरेर राखेका थिए।
यस्तै कञ्चनपुर पूर्णबासस्थित शंकर विकको घरभित्रबाट १८ केजी सुन बरामद भयो। भारतमा ड्राइभरको काम गर्ने विकलाई प्रहरीले लुकाइराखेको १८ केजी सुनसहित पक्राउ गरेको हो। प्रहरीले यतिबेला देशभरबाट १ सय ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। उनीहरुको साथबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ।
पछिल्लो ११ महिनामा सबैभन्दा बढी उपत्यकाबाट ९२ जना, प्रदेश दुईबाट ५ जना, प्रदेश ३ बाट ४ जना, गण्डकी प्रदेशबाट २ जना र सुदूरपश्चिमबाट ४ जना पक्राउ परेका छन्।
०७४/७५ मा अवैध सुन ओसारपसार र कारोबारमा संलग्न ९० जना पक्राउ परेका थिए। पछिल्लो ११ महिनामा उपत्यकाबाट ३६ किलो ६ सय ४० ग्राम, प्रदेश २ बाट ७ तोला, प्रदेश ३ बाट ११ किलो १ सय ८८ ग्राम, गण्डकीबाट १० किलो, कर्णालीबाट १ किलो ७ ग्राम र सुदूरपश्चिमबाट २५ किलो ५ सय १ ग्राम अवैध सुन बरामद भएको छ। यसबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजस्व संकलन भएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार अवैध सुन ओसारपसार गर्ने गिरोहले सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सबटम बनाई लुकाउने, सुटकेसको डन्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने र सुनभन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ।
भण्डारीले सुन तस्करी नियन्त्रण गर्न विमानस्थल भन्सारसँग समन्वय गर्न विमानस्थलमा विशेष निगरानी बढाएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४